ललितपुरमा चक्कु प्रहारबाट २३ वर्षीय युवकको हत्या

पालिका डायरी
९ पुष २०८१, १२:४०
होटल संचालन गर्दै आएकी एकल महिलाको हत्या

गएराति ललितपुरको सातदोबाटोमा चक्कु प्रहारबाट एक युवकको हत्या भएको छ ।

सुनसरीको इटहरी घर भइ ललितपुर बस्दै आएका २३ वर्षीय नयन गुरूङको हत्या भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवरत्न पौडेलले जानकारी दिए ।

हत्यामा संलग्न भएको आरोपमा प्रहरीले डडेल्धुरा घर भई ललितपुर महानगरपालिका ९ च्यासल बस्ने २६ वर्षीय हेमराज भट्टसहित तीन जनालाई पक्राउ गरेको छ ।

गएराति सवा नौ बजे ललितपुर महानगरपालिका-९ च्यासलस्थित ‘टाउन अफ क्याफे’मा उक्त घटना भएको हो ।  पक्राउ परेका भट्ट क्याफेका कामदार भएका प्रहरीले जनाएको छ ।

‘खाजा खाएपछि बिल तिर्ने क्रममा यो घटना भएको देखिन्छ,’ एसपी पौडेलले भने, ‘विवादको क्रममा कामदारले एक्कासी ग्राहकलाई चक्कुले हान्दा घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।’ चक्कु प्रहारबाट गम्भीर घाइते भएका गुरुङको उपचारको क्रममा गएराति बीएन्डबी अस्पताल ग्वार्कोमा मृत्यु भएको हो ।

घटनापछि प्रहरी प्रभाग बालकुमारी र जिल्ला प्रहरी परिसर ललितपुरबाट गएका प्रहरीले क्याफेका संचालक र कुकलाई पक्राउ गरेको हो । घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको एसपी पौडेलले बताए ।

 

प्रतिक्रिया