सिविन नेपालले सर्वेक्षण गरेको बालबालिकाको तथ्याङक सार्वजनिक

पालिका डायरी
८ पुष २०८१, २०:२१

हेटौंडा / सिविन नेपाल मकवानपुरले हेटौंडा उपमहानगरपालिका भित्रका ५ वटा वडामा बालबालिका सम्बन्धि गरिएको स्थलगत आधारभूत सर्वेक्षणको तथ्यांक सार्वजनिक गरेको छ । जिल्ला स्थित सरोकारवाला निकायहरु माझ सिविनले हेटौंडा उपमहानगरपालिका वडा नं. १, ३, १०, ११ र १९ मा गरिएको घरधुरी सर्वेक्षणबाट प्राप्त तथ्यांक सावर्जनिक गरिएको हो ।

हहेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ५ वडाका अध्यक्षहरु, बालमैत्री सम्पर्क व्यक्ति एवम् वडा सदस्यहरु, टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्षहरु, हेटौँडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद गौतम, महिला बालबालिका तथा समावेशीकरण महाशाखा, शिक्षा, जनस्वास्थ्य महाशाखा, सामाजिक विकास महाशाखा,बालमैत्री सहजकर्ताहरु, जिल्ला समन्वय समिति, शिक्षा विकास तथा समन्वय इकाइ, गैरसरकारी संस्था महासंघ मकवानपुर, नगर बाल सञ्जालका सदस्यहरु, साप्लानिरका सुजना श्रेष्ठ, सिविन नेपालका परियोजना ब्यवस्थापन कृष्ण तामाङ लगायत ५६ जनाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको सिविन नेपाल मकवानपुरका प्रवन्धक झबिन्द ज्ञवालीले जानकारी दिए ।

हेटौडा उपमहानगरपालिकाका नगर प्रमुख मीनालामाले बालबालिकाको यो सर्वेक्षणले बालमैत्री स्थानीय शासन अभियानलाइ सहयोग पुग्ने र स्थानीय सरकारले लिएको लक्ष्यलाइ पुरा गर्ने सहयोग पुग्ने भन्दै सिविन नेपाललाइ धन्यवाद समेत दिनुभयो । यसै गरि सर्वेक्षण गरिएका सम्बन्धि वार्डका वार्ड अध्यक्षहरु वार्ड न १,३,११,१० र १९ का क्रमशः सविन न्यौपाने, ढोलक बहादुर थापा, जुना दाहाल, फुर्वा दोर्जे लामा, नरनारन सुवेदीले आफ्नो वडामा बालबालिकाको विवरणलाइ विश्लेषण गरि सो अनुसार कार्य योजना बनाइ काम गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।

कार्यक्रममा सिविन नेपालको तर्फबाट विषय विज्ञ भास्कर खनालले यी ५ वडाको जम्मा ९,८०१ घरधुरीमा गरिएको सर्वेक्षणको आधारभूत तथ्यांक सार्वजनिक गरेका थिए । बालबालिकाको कुल संख्या १ हजार ३४५ र मनहरीमा ८ हजार ७८६ बालबालिका रहेको तथ्यांकले देखाएको छ । जसमा हेटौंडामा बालकको संख्या ६ हजार ८५९ र बालिका ६ हजार १८६ रहेको छ भने मनहरी गाउँपालिकामा बालकको संख्या ४ हजार ५३१ र बालिकाको संख्या ४ हजार २५४ रहेको तथ्यांक छ । यस्तै, मनहरीमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको एकजना रहेको सिविनको तथ्यांक छ ।
सिविनले गरेको सर्वेक्षणका अनुसार जातीय संरचनामा मुख्यतः तामाङ, ब्राम्हामण र क्षेत्री रहेका छन् । जन्मदर्ता भएका घरधुरी ९३ प्रतिशत, नागरिकता प्रमाणपत्र प्राप्त भएका घरधुरी ९५.३१ प्रतिशत, घरधुरीको औसत मासिक आम्दानी ३५ हजार रुपैंया, अपांगता भएका घरधुरीको संख्या ३५७, विद्यालयमा सार्वजनिक विद्यालयको प्रयोग, विद्यालय भर्ना भएका बालबालिकाको संख्या १० हजार ६०२ र विद्यालय छाड्ने बालबालिकाको संख्या ३६९ रहेको तथ्यांकले देखाएको छ ।

यता, विवाहको उच्च जोखिममा रहेको बालबालिकाको संख्या ५३ जना भटिएको सर्वेक्षणले देखाएको छ । यस्तै शिक्षाका लागि बाधा परेका विभिन्न विषयमा समेत सिविनले सर्वेक्षण गरेको छ । जसमा आर्थिक समस्या ७५ प्रतिशत, सुविधा अभाव १० प्रतिशत, अपाङ्गता भएका बालबालिकाको संख्या १.२ प्रतिशत अर्थात् ११७ बालबालिका, अपाङ्गता प्रमाणपत्र ३१ प्रतिशत बालबालिकाले प्राप्त गरेको तथ्यांकले देखाएको छ ।

सर्वेक्षणको क्रममा बाल श्रममा संलग्न ७३ घरधुरी रहेको तथ्यांकले देखाएको छ । पूर्णकालिक बाल श्रमिक ६७ प्रतिशत फेला परेका छन् । जसमा २६ प्रतिशत यातायात क्षेत्रमा बालश्रम गर्दै आएको पाइएको छ भने ११ प्रतिशत बालबालिका कारखानामा श्रम गर्दै आएको तथ्यांकले देखाएको छ । यता, सर्वेक्षणमा स्वास्थ्य बिमा भएका घरधुरीको ५३.६९ प्रतिशत रहेको तथ्यांकले देखाएको छ । स्वास्थ्य समस्याको दर ६.५६ प्रतिशत, बालबालिकामा लागूपदार्थको प्रयोग १ प्रतिशत रहेको तथ्यांकले देखाएको छ ।

बाल अधिकारको चेतना प्राप्त भएको ६५ पाइएको छ भने समुदाय सहभागिता १३.४ प्रतिशत, दुबै अभिभावकविहीन बालबालिकाको संख्या २ हजार ५३३ रहेको पाइएको तथ्यांकले देखाएको छ । बाल विवाहको जोखिममा रहेका बालबालिकाको संख्या ५३ छ भने विवाह प्रमाणपत्र उपलब्धता ८९ प्रतिशत रहेको सिविनको सर्वेक्षणले देखाएको छ । सर्वेक्षणका लागि सिविन नेपाल मकवानपुरले सर्वेक्षक नियुक्त गरेको थियो । तीन महिनाको सर्वेक्षण सम्बन्धित जनप्रतिधिहरुको उपस्थितीमा सार्वजनिक गरिएको हो । सिविनले संकलन गरेको यो तथ्यांक बालममैत्री नगर बनाउनका लागि सहयोग पुग्ने जनप्रतिनिधिहरुले बताए ।

हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा हेटौंडा १ का वडाअध्यक्ष सबिन न्यौपाने, ३ नम्बर वडाका वडाध्यक्ष ढलक थापा, ९ नम्बर वडाका वडाध्यक्ष सुकराम केसी, १० नम्बर वडाका वडाध्यक्ष फुर्वा लामा, ११ की वडाध्यक्ष जुना दाहाल र १९ नम्बर वडाका वडाध्यक्ष नरनाथ सुवेदी लगाएतको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया