संघीयता विकास विरोधी होइन, कार्यान्वयन हुँदैछ : मुख्यमन्त्री जम्मकट्टेल (भिडियाे)

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले संघीयता कार्यान्वयन सुधारोन्मुख भएको बताएका छन्।
बिहीबार प्रदेशको राजधानी हेटौंडामा तहगत अधिकारको कार्य विस्तृतीकरण विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पछिल्लो समय संघीयता कार्यान्वयनमा सकारात्मक प्रयासहरु सुरु भएको बताएका हुन्।
‘दोहोरो ऐन निर्माण हुँदा संघ, प्रदेश र स्थानीय सरकारबीचमा चुनौती देखा परेको थुप्रै उदाहरणहरु छन्। केही अधिकार प्राप्तिका लागि हाम्रो प्रयास चलिरहेकै छ’, उनले भने, ‘तर तीबाहेक अधिकार नपाएर काम नै रोकिने अवस्था आएको छैन। काम त भइरहेकै छन्। तर पनि एकल अधिकार पाइयो भने सहज अवस्था सिर्जना हुन्छ भन्ने हाम्रो उदेश्य हो।’
पछिल्लो समय विभिन्न स्थानहरुमा बहस भएजस्तो संघीयता विकासविरोधी नभएको उनले बताए। देश संघीयतामा गएपछि शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रहरूमा विकास भएको मुख्यमन्त्री जम्मकट्टेललको भनाइ छ।
हेटौंडामा बिहीदेखि सुरु तहगत अधिकारको कार्य विस्तृतीकरण विषयक अन्तरक्रिया कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासंघको संयुक्त आयोजनामा भएको कार्यक्रममा प्रदेश र स्थानीय तहका अधिकारका बिषयमा छलफल सुरु भएको छ।
उक्त अन्तरक्रियामा सातै प्रदेशका मुख्यमन्त्रीहरु समेत सहभागी हुनेछन्। कार्यक्रम भोलिसम्म चल्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेशले जनाएको छ।
भिडियाे