नेतृत्वविरूद्ध सामाजिक सञ्जालमा बोल्नेलाई कारबाही गर्ने एकीकृत समाजवादीको चेतावनी

पालिका डायरी
२१ श्रावण २०८०
नेतृत्वविरूद्ध सामाजिक सञ्जालमा बोल्नेलाई कारबाही गर्ने एकीकृत समाजवादीको चेतावनी

नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठकले पार्टी नेतृत्वविरूद्ध सामाजिक सञ्जालमा लेख्न कडाइ गरेको छ। आइतबार साँझ सकिएको स्थायी कमिटी बैठकले पार्टी नीति, निर्देशन विपरीत सामाजिक सञ्जालमा धारणा राख्न निषेध गरेको हो।

‘अहिले पार्टी र पार्टी सम्बद्ध जनसंगठनमा आवद्ध कतिपय व्यक्तिले सार्वजनिक सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अनुशासनको सीमा नाघेर बोल्ने र लेख्ने गरेको पाइएकाले त्यस प्रकारले बोल्ने र लेख्ने काम नगर्न यो बैठक निर्देशन गर्दछ,’ बैठकपछि एकीकृत समाजवादीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टीका नीति र निर्देशनको अवज्ञा भइरहेमा पार्टी विधान अनुसार कारबाही हुने व्यहोरा स्वतः सिद्ध छ।’

त्यस्तै बैठकले मुलुकको तराई क्षेत्रमा सुख्खा खडेरी परी धान रोपाइँ नै हुन नसकेकोले त्यस क्षेत्रलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरी प्रभावित किसानहरूलाई राहत उपलब्ध गराउन सरकारसँग माग गर्ने निर्णय गरेको छ।

यसैगरी स्थायी कमिटी बैठकले मुलुकका विभिन्न भागमा बाढी पहिरो गई जनधनको ठूलो क्षति भएकाले बाढी-पहिरोबाट प्रभावित जनतालाई उद्धार र राहत प्रदान गर्न सरकारसँग माग गर्ने निर्णय गरेको पार्टी प्रवक्ता तथा उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।

आज सकिएको बैठकले भारत उत्तराखण्डको रुद्रप्रयाग गौरीकुण्डमा गएको पहिरोमा परी बेपत्ता भएका नेपालीहरूको खोजी तथा उद्धार कार्यमा उच्च प्राथमिकता दिन सरकारसँग माग गर्ने निर्णय गरेको उनले बताए।

मुलुकभर फैलिएको लम्पी स्किन रोगबाट ठूलो संख्यामा पशुचौपायाको मृत्यु भएर क्षति भोगेका किसानहरूलाई राहत दिन सरकारसँग माग गर्ने निर्णय पनि बैठकले गरेको छ।

प्रतिक्रिया