दोस्रो बागमती प्रदेश खेलकुदको जुडोमा ललितपुर पहिलो

पालिका डायरी
११ जेष्ठ २०८०, २१:१९
जुडोमा ललितपुर पहिलो

दोस्रो बागमती प्रदेश खेलकुदको जुडोमा ललितपुर टिम च्याम्पियन बनेको छ । काठमाडौँको खुशीबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको प्रतियोगितामा ललितपुर ४ स्वर्ण, ३ रजत र २ कांस्य पदकसहित टिम च्याम्पियन बनेको हो ।

प्रतियोगितामा काभ्रे ३ स्वर्ण, १ रजतर १ कांस्यसहित दोस्रो भयो । २ स्वर्ण, १ रजत र १ कांस्यसहित नुवाकोट तेस्रो स्थानमा रह्यो । पुरुष र महिलामा समान ७–७ गरी १४ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा मकवानपुरले २ तथा रामेछाप, सिन्धुपाल्चोक र काठमाडौँले १–१ स्वर्ण पदक जिते ।

प्रतियोगिताको पुरुषमा काभ्रेका प्रवीणकुमार दियाली तथा महिलामा नुवाकोटकी अन्जु पाण्डे उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगिताको अन्तिम दिन बिहीबार महिला ७० केजी तौलसमूहमा रामेछापकी रन्जना खड्का, ७८ केजीमुनि मकवानपुरकी एलिसा गोले र ७८ केजीमाथि मकवानपुरकी अस्मिता गोलेले स्वर्ण चुमे ।

यसैगरी पुरुषको ८१ केजीमुनि काभ्रेका मनोज आचार्य, ९० केजीमुनि नुवाकोटका रामभक्त तामाङ, १ सय केजीमुनि काभ्रेका आकाश आलेमगर र १ सय केजीमाथि काठमाडौँका वसिस्ट महर्जन शीष स्थानमा रहे । दुई दिने प्रतियोगितामा ९ जिल्लाका ५७ खेलाडी सहभागी थिए ।

प्रतिक्रिया