असुरक्षित तेस्रोलिङ्गी समुदाय, घटनाबारे अनविज्ञ प्रहरी प्रशासन
हेटौंडा / हेटौंडा ४ निवासी ३४ बर्षीया दिलमाया लिम्बु गत शनिबार राति सडकमा उभिरहेकी थिइन्। करिब १० बजेतिरको समयमा लिम्बुसँगै अरु २÷४ जना साथीहरु पनि थिए। एउटा हरियो र पहेंलो रंगको अटो उनीहरुसामु आएर रोकियो। अटोबाट तीनजना पुरुषहरु सडकमा ओर्लिए, अनि उनीहरुको मोलमोलाइ गर्न सुरु गरे। लिम्बु बोलेकी थिइनन् यस बिषयमा। हेर्दा सोझो मान्छे जस्तै गरी उभिरहेकी उनैलाई ती पुरुषका समूहले तान्न खोजे। भाग्ने प्रयास उनले पनि नगरेकी भने होइनन्। तर सोही बेला सडकको ढुंगा टिपेर दिलमायाको मुखमा हिर्काइदिए।
मुखमा ढुंगाले लागेपछि सडकको भित्तामा मुर्छा परेर दिलमाया बजारिन्। मुखबाट रगत बग्न थाल्यो। दुवैओठ काटियो र ४ वटा दाँत पनि झर्योे। अटोको नम्बर प्लेटमा भएका केही अंकहरु उनका साथीहरुले पत्ता लगाइदिए। तर घटना घटेको तीनदिन बित्दा पनि दिलमायाको न्यायको भने पत्तो लागेको छैन। दिलमायाले न्याय नपाउनुको एउटै कारण बनेको छ, तेस्रोलिङ्गी नागरिक। समाजमा भएका महिला र पुरुषले पाउने जति अधिकार लैगिंक यौनिक तथा अल्पसंख्यक समूदायलाई नभएकै कारण घटना घटेको लामो समयसम्म पनि न्याय दिने न्यायलयहरु चुपचाप छन्।
ज्यान पाल्न यौनश्रम
दिलमाया आफ्नो ज्यान पाल्नकै लागि यौनश्रम गर्न बाध्य छिन्। घर पूर्व भएपनि परिवारले तेस्रोलिङ्गी भएको थाहा पाएकै कारण साथ र माया दिएनन्। जब उनको लिंग पहिचान भयो, तब उनको लागि आफ्नैहरु पनि टाढा भए। आफ्नो ज्यान पाल्नको लागि अनेक कामहरु नखोजेकी भने होइनन्, तर जहाँ काम खोज्न गएपनि तेस्रोलिङ्गी हो भन्ने थाहा पाउने बित्तिकै काम नदिने, दिएपनि थाहा पाएपछि निकाल्ने समस्याले कतै बिक्न सकिनन्।
घर परिवारबाट टाढिएकी दिलमायाको बिस्तारै आफ्नै समुदायका मानिसहरुसँग घुलमिल हुन सुरु भयो। पेट पाल्न र ओत लाग्ने छानोको लागि संघर्ष नगरी मुस्किल हुनेभएपछि यौनश्रममा लागेको उनी बताउँछिन्। शनिबार राति पनि उनी र उनका साथीहरु सधैंजसरी नै ग्राहक कुरिरहेको अवस्थामा कुटपिट भएको यौनिक लैंगिक तथा अल्पसंख्यक समुदायको सरोकारमा काम गर्दै आएको फ्रेन्डस् हेटौंडाले जनाएको छ।
प्रहरी प्रशासन मौन
बाटोमा उभिरहेको समयमा एक्कासी हातपात भएपछि पीडितहरुले न्यायको लागि प्रहरीको साथ मागेका थिए। घटना घटेको जानकारी आउने बित्तिकै फ्रेन्ड्स हेटौंडाकी संयोजक किरण थापाले प्रहरीलाई जानकारी गराइन्। तर त्यसबेला प्रहरी घटनास्थलसम्म पनि पुगेन।
‘अटोको नम्बर र मान्छे पत्ता लगाउन हामीले प्रयास त गरेका हौं, तर भेट्न कठिन भयो।’ थापाले भनिन्, ‘बिरामीलाई हस्पिटल पठाएर हामी २-३ जनाले स्कुटर र बाईकमा त्यो अटोलाई पिछा गर्यौं। अटोको तीनवटा नम्बर पत्ता लगाएका छौं। यति जानकारी गराउँदा पनि यस बिषयमा अनुसन्धान गर्न प्रहरी पशासन नै मौन बसेका छन्। तीनदिन भैसक्यो, अझै पत्ता लगाउन सकेको छैन।’ उनका अनुसार प्रहरीले थाहा पाएर पनि मौन बसेको छ। ‘हामीले सुन्नमा आए अनुसार त्यो अटो र ती मान्छेहरु हेटौंडा आसपासमै घुमिरहेको भन्ने जानकारी पाएका छौं। तर प्रहरीले नदेखे जस्तै गरिरहेको छ,’ उनले भनिन्।
घटनाबारे अनविज्ञ प्रहरी
शनिबार राति घटेको घटनाको बारेमा तत्कालै प्रहरीलाई जानकारी गराउँदा घटनास्थलसम्म प्रहरी नपुग्नु एउटा दुखद् बिषय बन्यो भने केही बेर पछि पीडित पक्षलाई नै प्रहर।ीले फोन गरेर पक्रिनु भयो भन्ने प्रश्न गरेको भन्दै पीडित पक्षले चिन्ता व्यक्त गरिरहेका छन्। जिल्ला प्रहरी कार्यालयबाट उल्टै यस्तो प्रश्न हामीलाई गर्ने कि हामीले गर्ने भनेर अन्यौलमा परेको उनीहरु बताउँछन्।त्यसोत, यो बिषयको घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय अझै मौन रहेको पाइएको छ। यस घटनाबारे आफूलाई हालसम्म थाहा नै नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक तथा प्रवक्ता टेकबहादुर कार्कीले बताए।
आहो यस्तो घटना घटेको छर ? भन्दै उनले उल्टै प्रश्न गरे। घटनाबारे आफूसम्म जानकारी नआएको बताउँदै मुद्दा दर्ता भएको भए हेर्ने प्रवक्ता कार्कीले बताए। न्याय पाइएला भनेर बसेका पीडित पक्षको घटनाको बारेमा प्रहरी नै अनविज्ञ रहेको पाइएको छ।
जागिर नपाएपछि यौनश्रम
तेस्रोलिङ्गी भन्ने थाहा पाएपछि सरकारी होस् या प्राइभेट जहाँ पनि जागिर पाउनु मुस्किलको कुरा हो। क्षमता, पढाई र दक्षता हुँदाहँदै पनि जागिर नपाइने भएपछि अधिकांश तेस्रोलिङ्गी समुदायहरुको पेशा यौनश्रम बन्ने गरेको छ।
‘केहीसमय अघि बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा विभिन्न पदमा कर्मचारी माग गरिएको थियो। बिज्ञापन अनुसार नै ४ जना तेस्रोलिङ्गीहरुले पनि फारम भरे। तर उनीहरुलाई तेस्रोलिङ्गी भएकै कारण अन्तवार्तामा पाmलियो। सरकारले त हामीलाई कोटा छुट्याउन सक्दैन। अधिकार दिन सक्दैन। त्यसैले आफ्नो ज्यान धरापमा राखेर भएपनि यौनश्रम गर्न बाध्य छन् हाम्रा समुदायका मानिसहरु’, फ्रेन्ड्स हेटौंडाकी संयोजक किरण थापाले भनिन्।
थापाका अनुसार हेटौंडामा यसरी रातिको समयमा यौनश्रम गर्ने यौनिक लैंगिक तथा अल्पसंख्यक समुदायका नागरिकहरु २५ देखि ३० जनाको हाराहारीमा रहेका छन्। उनीहरु माथि यस्ता घटनाहरु दैनिक घट्ने गरे पनि स्थानीय सरकार, प्रदेश सरकार तथा प्रहरी प्रशासन मौन बस्ने गरेको उनले गुनासो गरिन्।