बेथा लागेपछि ६ घन्टा हिँडाइएकी सुरन्तीले गर्भमै गुमाइन् शिशु

पालिका डायरी
१६ फाल्गुन २०७९
बेथा लागेपछि ६ घन्टा हिँडाइएकी सुरन्तीले गर्भमै गुमाइन् शिशु

दार्चुलामा सुत्केरी बेथा लागेपछि ६ घन्टा हिँडाइएकी सुरन्ती बोहराको गर्भमै शिशुको मृत्यु भएको छ । उनको पनि ज्यान जोखिममा परेपछि मात्रै हेलिकोप्टरबाट उद्धार गरिएको छ । गर्भमै शिशु गुमाएकी अपी हिमाल गाउँपालिका– ३ क्षत्तिकी २२ वर्षीया सुरन्तीलाई सेनाको हेलिकोप्टरमार्फत उद्धार गरेर कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएकोमा चिकित्सकले सोमबार राति मृत शिशु निकालेका हुन् ।

गाउँमा स्वास्थ्य केन्द्र नहुँदा सुरन्तीलाई सुरुमा दुई घन्टा हिँडाएर पालिकाको पाथास्थित आधारभूत स्वास्थ्य इकाइ पुर्‍याइएको थियो । अनमीले स्वास्थ्य सेवा दिने इकाइमा प्रसूति हुन नसकेपछि उनलाई आइतबार राति नै चार घन्टा पैदलै हिँडाएर खण्डेश्वरीस्थित आधारभूत स्वास्थ्यचौकी पुर्‍याइयो । तर, चिकित्सकको सुविधा नभएको त्यहाँ पनि सिनियर अहेव र सिनियर अनमीले प्रसूति गराउन सकेनन् ।

दुई दिनदेखि सुत्केरी बेथा लागेकी सुरन्तीको पेटमै शिशुको मृत्यु भएको सोमबार बिहान मात्र थाहा भएको खण्डेश्वरी स्वास्थ्यचौकीकी सिनियर अनमी लालुदेवी रोकायाले बताइन् । ‘पेटमै बच्चाको मृत्यु भयो, आमाको ज्यानसमेत खतरामा हुने देखिएपछि रिफर गरिएको हो, यहाँ बच्चा निकाल्न सम्भव भएन,’ उनले भनिन् ।

क्षत्ति अपी हिमाल गाउँपालिकाको सबैभन्दा विकटको बस्ती हो । यो बस्तीमा स्वास्थ्य संस्था छैन । अपी हिमाल गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे बोहराका अनुसार उनलाई सोमबार साँझ मात्र सेनाको हेलिकोप्टरमार्फत उद्धार गरेर सुर्खेत लगिएको हो । राष्ट्रपति महिला उद्धार कार्यक्रममार्फत उद्धार गरिएकी सुरन्तीको उपचार भइरहेको छ ।

प्रतिक्रिया