एकैपटक ५ सय ५५ वटा मादल बजाएर नेपाली सेनाले राख्याे कीर्तिमान्

पालिका डायरी
८ फाल्गुन २०७९, १२:५५
एकैपटक ५ सय ५५ वटा मादल बजाएर नेपाली सेनाले राख्याे कीर्तिमान्

नेपाली सेनाले एकैपटक ५ सय ५५ वटा नेपाली मौलिक बाजा मादल बजाएर कीर्तिमान् कायम गरेको छ ।

महाशिवरात्रि तथा सेना दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा प्रधानसेनापति प्रभुराम शर्मालाई सेनाले मादलमा कायम गरेको कीर्तिमानको प्रमाणपत्र वर्ल्ड बुक अफ रेकर्ड्सकाे प्रमाणपत्र हस्तान्तरण गरिएकाे हाे ।

सेनाले सङ्गठन स्थापनाको दुई सय ६०औँ वार्षिकोत्वका अवसरमा टुँडिखेलमा यही फागुन ४ गते सङ्ख्यामा मादल बजाएर कीर्तिमान् कायम गरेको प्रमाणपत्र संस्थाका नेपाल प्रतिनिधि सागर कटुवालले आज हस्तान्तरण गर्नुभएको हो ।

मादल नेपाली समाजमा अत्यधिक प्रयोगमा आउने बाजामध्ये प्रमुख मानिन्छ । नेपाली मौलिक चाड दशैँ, तिहार, सङ्क्रान्ति, देउसी, भैलो, जात्रालगायतका अरु विभिन्न चाडपर्वमा सबै जाति र समुदायले अपनत्व ग्रहण गर्ने साझा बाजाका रूपमा मादललाइ लिने गरिन्छ ।

सागर कटुवालले देशभरबाट जम्मा भएका सेनाका मादल बादकले कायम गरेको रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालको मौलिक बाजा मादललाई प्रवर्द्धन गर्ने हिसाबले भएको नौलो र पहिलो प्रयास थियो, सेनाले यसलाई सम्पन्न गर्यो । ठूलो सङ्ख्याले एकै पटक विभिन्न तालमा बजाएर कायम गरेको रेकर्डमा सङ्ग्रहित गरेका छौँ ।’

मादल बज्नासाथ प्रत्येक व्यक्तिको मनमा सङ्गीतको तरङ्ग चल्छ । हाम्रो संस्कृतिसँग जोडिएको विशिष्ट पहिचान जोडिएको बाजा मादल नै हो । गायक निर्णय एनएसकेले देशमा व्यापकरूपमा प्रयोग हुने बाजाहरूको सूचीमा मादल नै पहिलो नम्बरमा रहेकाले सेनाले गरेको रेकर्डले नेपालाई संसारभर परिचित गराउन सफल भएको प्रतिक्रिया दिनुभयो ।

सेनाले कायम गरेको रेकर्ड प्रमाणित गर्ने टिममा रहेर आफूले काम गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया