कांग्रेस १ ठाउँमा विजयीसहित ४ क्षेत्रमा अघि, एमालेलाई ८ क्षेत्रमा अग्रता, विवरणसहित
प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसले मुस्ताङबाट खाता खोलेको छ । मुस्ताङमा कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी हुनुभएको छ । २९ वर्षीय गौचनले एमालेका ६० वर्षका उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई नाै सय १४ मतले हराउनुभएको हो । गौचनले तीन हजार नाै सय ९२ मत प्राप्त गर्नुभएको छ भने एमालेका तुलाचनले तीन हजार ७८ मत प्राप्त गर्नुभएको छ ।
प्रतिनिधि सभा सदस्यमा निर्वाचित योगेश कांग्रेसका जिल्ला सभापति एवम् पूर्वसांसद रोमी गौचनका छोरा हुनुहुन्छ । २०७४ को चुनावमा एमालेका तुलाचनले कांग्रेसबाट उम्मेदवार बनेका रोमी गौचनलाई पराजित गर्नुभएको थियो । निर्वाचन आयोगले मत परिणामको घोषणा भने गर्न बाँकी रहेको छ ।
प्रतिनिधि सभा र प्रदेश सभा चुनावअन्तर्गत काठमाण्डौ, ललितपुर, भक्तपुर, कास्की, झापा, धनुषा, बाँके, सप्तरी र दैलेखमा मतगणना चलिरहेको छ । काठमाण्डौको क्षेत्र नम्बर–१, ३, ४, ६, ७, ८ र ९, ललितपुरका तीन वटै क्षेत्र, भक्तपुरको क्षेत्र नम्बर २, कास्की क्षेत्र नम्बर २, झापा–२ र ३, धनुषा ३ र बाँकेको क्षेत्र नम्बर–३ मा र सप्तरीको २ मा मतगणना भइरहेको हो ।
मुस्ताङमा कांग्रेस विजयी भयो । अहिले गणना भइरहेका १८ वटा क्षेत्रमध्ये कांग्रेसले चार वटा क्षेत्रमा अग्रता कायम गरेको छ । काठमाण्डौ–१ मा प्रकाशमान सिंह, काठमाण्डौ–३ मा सन्तोष चालिसे, काठमाण्डौ–४ मा गगनकुमार थापा तथा भक्तपुर–२ मा दुर्लभ थापा अगाडि हुनुहुन्छ । सिंहले आठ सय १८ मत ल्याउँदा प्रतिस्पर्धी राप्रपाका रवीन्द्र मिश्रले सात सय ३७ मत ल्याउनुभएको छ । त्यस्तै गगनकुमार थापाले छ सय ६८ मत प्राप्त गर्दा एमालेका राजन भट्टराईले छ सय ६३ मत ल्याउनुभएको छ । भक्तपुर–२ मा कांग्रेसका थापाले चार हजार एक सय १३ मत ल्याउँदा एमालेका महेश बस्नेतले तीन हजार छ सय ८१ मत प्राप्त गर्नुभएको छ ।
गणना भइरहेका आठ वटा क्षेत्रमा एमालेको अग्रता छ । ललितपुरका तीन वटा क्षेत्र, काठमाण्डौको क्षेत्र नम्बर–९, बाँकेको ३, धनुषाको ३, झापाको–२ र दैलेखको–१ मा एमाले अगाडि छ । काठमाण्डौ–९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ पाँच सय ६४ मत ल्याएर अगाडि हुनुहुन्छ । उहाँका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले पाँच सय ६१ मतसहित पछ्याउनुभएको छ ।
ललितपुर क्षेत्र नम्बर–१ मा एमालेका उम्मेदवार नवराज सिलवालले छ सय ६७ मत प्राप्त गर्दै प्रारम्भिक चरणमा अग्रता बनाउनुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका उदयशम्शेर जबराले चार सय एक मत प्राप्त गर्नुभएको छ ।
ललितपुर क्षेत्र नम्बर–२ मा नेकपा एमालेका प्रेमबहादुर महर्जन चार सय ८३ मतले अगाडि हुनुहुन्छ । ताजा मत परिणामअनुसार १० हजार ८८ मत गणना हुँदा एमालेका महर्जनले दुई हजार नौ सय ८० मत ल्याउनुभएको छ । निर्वाचन अधिकृत दिपशिखा मुनाकर्मीका अनुसार हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले दुई हजार चार सय ९७ मत ल्याउनुभएको छ ।
ललितपुरको निर्वाचन क्षेत्र–३ मा पनि एमालेलाई अग्रता छ । एमालेका उम्मेदवार अमृत खड्काले अहिलेसम्म सात सय ८४ मत पाउनुभएको छ । माओवादी केन्द्रका पम्फा भुसाल छ सय ९४ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की चार सय ९८ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ ।
बाँकेको क्षेत्र नम्बर–३ मा नेकपा एमालेले अग्रता बनाएको छ । १२ सय ४८ मतगणना हुँदा एमालेका उम्मेदवार किस्मतकुमार कक्षपतिले छ सय मत ल्याएर अगाडि हुनुहुन्छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका किशोरसिंह राठोरले चार मत प्राप्त गर्नुभएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्रनाथ शुक्लाले दुई सय ४८ मत प्राप्त गर्नुभएको छ ।
यस्तै धनुषा निर्वाचन क्षेत्र नम्बर–३ को प्रतिनिधि सभातर्फ गणना भइरहेको छ । त्यहाँ एमालेका जुलीकुमारी महतोले छ सय आठ मतसहित अग्रता कायम गर्नुभएको छ । जनमत पार्टीका शम्भु साहले तीन सय २० र लोसपाका अनिलकुमार झाले तीन सय १० मत प्राप्त गरेको पछिल्लो विवरण छ ।
झापाको निर्वाचन क्षेत्र नम्बर–२ मा मतगणना चलिरहेको छ । क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार देवराज घिमिरेले एक हजार चार सय ३२ मतसहित अग्रता लिनुभएको छ । त्यस्तै माओवादीका हरिकुमार रानाले आठ सय ३१ मत प्राप्त गर्नुभएको छ ।
दैलेख–१ मा प्रारम्भिक गणनामा एमालेका रविन्द्रराज शर्माले २७ र एकीकृत समाजवादीका अम्मरबहादुर थापाले १५ मत प्राप्त गर्नुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले चार ठाउँमा अग्रता बनाएको छ । काठमाण्डौ–६ मा शिशिर खनाल एक सय ७२ मतसहित अगाडि हुनुहुन्छ । त्यहाँ एमालेका सर्वेन्द्र खनालले एक सय ४३ मतसहित पछ्याइरहनुभएको छ । काठमाण्डौ–७ मा पनि स्वतन्त्र पार्टीका गणेश पराजुली छ सय १५ मतसहित अगाडि हुनुहुन्छ । उहाँका प्रतिस्पर्धी एमालेका श्यामकुमार घिमिरेले पाँच सय एक मत प्राप्त गर्नुभएको छ । त्यस्तै काठमाण्डौ–८ मा विराजभक्त श्रेष्ठ छ सय २१ मत प्राप्त गर्दा हाम्रो नेपाली पार्टीका सुमन सायमीले छ सय तीन मत ल्याउनुभएको छ ।
त्यस्तै कास्कीको क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार माधवप्रसाद कँडेलले अग्रता लिइरहनुभएको छ । उहाँले सात सय ४६ र उहाँका प्रतिस्पर्धी एमालेकी विद्या भट्टराईले चार सय ८१ मत ल्याउनुभएको छ ।
झापाको क्षेत्र नम्बर–३ मा राप्रपाका राजेन्द्र लिङ्देनले दुई सय २७ मत ल्याएर अगाडि हुनुहुन्छ । उहाँका प्रतिस्पर्धी कांग्रेसका कृष्णप्रसाद सिटौलाले दुई सय १३ मत ल्याउनुभएको छ ।
सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले एक हजार १० मत ल्याएर अगाडि हुनुहुन्छ । त्यहाँ दोस्रोमा रहेका जसपाका अध्यक्ष उपेन्द्र यादवको सात सय ५३ मत छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका जयप्रकाश ठाकुर एक सय ९५ मत सहित तेस्रो स्थानमा हुनुहुन्छ ।