मौन अवधिमा बदमासी हुनसक्छ, आयोगले निगरानी गर्नुपर्छ : पूर्वमन्त्री आचार्य

पालिका डायरी
२१ कार्तिक २०७९
मौन अवधिमा बदमासी हुनसक्छ, आयोगले निगरानी गर्नुपर्छ : पूर्वमन्त्री आचार्य

काठमाण्डाै / पूर्वमन्त्री निलाम्बर आचार्यले राजनीतिक दलका प्रमुख नेताहरू उम्मेदवार भएको क्षेत्रमा चुनावलाई स्वच्छ बनाउन निर्वाचन आयोगलाई आग्रह गर्नुभएको छ ।

हिजाे आइतवार ललितपुरमा आयोजित निर्वाचन आयोगको अभिभाराको सम्बन्धमा गरिएको अन्तरक्रियामा बोल्दै पूर्वमन्त्री आचार्यले प्रमुख नेताहरू उम्मेदवार भएको ठाउँमा निर्वाचन आयोगले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले प्रमुख नेताहरू उम्मेदवार भएको ठाउँमा मतदाताले कर, बल र अनुचित प्रभावविना मतदान गरेको अनुभूति गर्न सक्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रमुख नेताहरू उम्मेदवार भएकाे ठाउँमा निर्वाचन आयाेगले विशेष ध्यान दिनुपर्छ । उनीहरूले म स्वच्छ किसिमले, निष्पक्ष किसिमले, धाँधलीरहित किसिमले अनुचित प्रभावविना मतदानद्वारा निर्वाचित भएको हुँ भन्ने पाउनका निम्ति ती ठाउँमा विशेष ध्यान दिइयोस् भन्ने मेरो आग्रह छ । प्रमुख नेताहरू उम्मेदवार भएको ठाउँलाई स्वच्छताको एउटा मापदण्डको रूपमा प्रस्तुत गरियोस् ।’

पूर्वमन्त्री आचार्यले नेपालमा कुनै बेला रातारात मतपेटिका साटिएकोतर्फ ध्यानाकर्षण गराउँदै मतपेटिकाको सुरक्षाका लागि सतर्कता आवश्यक रहेको बताउनुभयो । उहाँले नागरिकको सजगता र सतर्कताले आयोगलाई पनि सजग र सतर्क हुन मद्दत गर्ने बताउनुभयो । चुनावकाे माैन अवधिमा बदमासी हुन सक्ने भन्दै त्यसतर्फ आयाेगले निगरानी गर्नुपर्ने उहाँकाे भनाइ छ ।

पूर्वमन्त्री आचार्यले कार्यान्वयन हुन सक्नेगरी मात्रै निर्वाचनसम्बन्धी कानुन बनाउनुपर्ने बताउनुभयो । आचारसंहितामा कतिपय कुरा अस्पष्ट रहेको भन्दै त्यसलाई पनि प्रष्ट पार्नुपर्ने उहाँकाे आग्रह छ ।

प्रतिक्रिया