सडक नबनेकाे भन्दै सर्लाहीकाे काैडेनावासीले उम्मेदवारलाई गाउँ पस्न दिएनन्
सर्लाहीको कौडेना गाउँपालिकाका स्थानीयवासीले हुलाकी राजमार्ग निर्माणमा लापर्बाही गरेको भन्दै उम्मेदवारलाई चुनाव प्रचारप्रसारमा रोक लगाएका छन् ।
तराईको ‘लाइफलाइन’ मानिएको हुलाकी राजमार्ग निर्माणको काममा ठेकेदारले लापर्बाही गरेको र वर्षाैँ बितिसक्दासमेत सडक अलपत्र परेको भन्दै स्थानीयवासीले उम्मेदवारलाई गाउँ पस्न नदिइ राजमार्गमा टायर बालेर सडक बन्द गरेका छन् । उनीहरूले मङ्सिर ४ गते हुने चुनावका लागि भोट माग्न हिँडेका उम्मेदवार र उनीहरू चढेका गाडीलाई रोकेर राखेका छन् । स्थानीयवासीले हुलाकी राजमार्ग समयमै निर्माण नगरे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा समेत भाग नलिने चेतावनी दिएका छन् ।
हुलाकी राजमार्ग निर्माणको काम समयमा नहुँदा वर्षाकाे बेलामा सडक हिलाम्मे भएर हिँड्न नसकिने र हिउँदमा सडकको धुलो उडेर घरमा बसिनसक्नुभएको कौडेना गाउँपालिका ३ का अध्यक्ष पचु चौधरीले गुनासो गर्नुभयो । हुलाकी राजमार्ग बनाउने भनेर राजनीतिक दल र तिनका नेताले पटक–पटक प्रतिबद्धता जनाए पनि सडक अलपत्र छाड्ने गरेका कारण अब विश्वास गर्न नसकिने चौधरीको भनाइ छ ।
अलपत्र परेको हुलाकी राजमार्ग तत्कालै निर्माण गर्ने र दैनिक धुलो उड्न नदिन सडकमा पानी छर्ने प्रतिबद्धता जनाएमात्र अवरोध अटाउने स्थानीय मनोज पासवानले बताउनुभयो । हुलाकी राजमार्गको काम समयमा नसकिँदा तराई–मधेसका नागरिकले वर्षाैँदेखि हैरानी खेप्दै आएका छन् ।