[अन्तर्वार्ता] आफ्नै गुरुसँग चुनावी प्रतिस्पर्धामा महेश बर्तौला, भन्छन् – सजिलै जित्छु

पालिका डायरी
७ कार्तिक २०७९
महेश बर्तौला

सुनिता बिष्ट

हेटौंडा / आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि मकवानपुरका नेता तथा कार्यकर्ताहरूले आफ्नो तयारी थालिसकेका छन् । जिल्लामा चुनावी माहौल तातेको छ । अहिले उम्मेदवारी दर्ता गराएर निर्वाचनमा होमिन लागेकाहरूको दौडधूप बढिरहेको छ । त्यसो त आगामी संघीय निर्वाचनमा मकवानपुरमा रोचक भिडन्त हुने आकलन छ भने गत २०७४ को प्रदेशसभा तथा प्रतिनिधि सभा निर्वाचनमा एउटै दल भएर मत माग्दै हिँडेकाहरू आगामी निर्वाचनमा प्रतिस्पर्धाको भूमिकामा उभिने भएका छन् ।

दुई वटा प्रतिनिधि सभा क्षेत्र तथा ४ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा गत निर्वाचनमा नेकपा एमाले तथा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका र उम्मेदवारलाई सघाएकाहरू आगामी निर्वाचनमा मैदान उत्रँदै छन् । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा गठबन्धनमा नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री विरोध खतिवडाले एकीकृत समाजवादीबाट मकवानपुरको क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गरेका छन् ।  ५ पुस २०७७ मा संसद विगठन भएपछि नेकपा एमाले छोडेर एकीकृत समाजवादीमा लागेका खतिवडा आगामी निर्वाचनका लागि पनि बलियो दाबेदार हुन् ।

उनको प्रतिद्वन्द्वी का रूपमा अघिल्लो निर्वाचनमा खुलेर भोट माग्दै हिँडेका युवा नेता छन् । खतिवडाले आफ्नो कडा प्रतिस्पर्धाको रूपमा आफ्नै चेलालाई पाएका छन् । गत निर्वाचनमा उनलाई जिताउन चुनावी मैदानमा खटिएका उनकै ‘चेला’ आगामी निर्वाचनमा उनलाई हराउन मैदानमा उत्रिएका छन् । एमाले युवा नेता महेश बर्तौला कुनै समय राजनीतिमा खतिवडाका चेला थिए ।

कुनै समय गुरु चेलाका रूपमा रहेका उनीहरू मंसिर ४ को चुनावमा एक अर्का विरुद्ध प्रतिस्पर्धा गर्दै छन् । ४ पटकसम्म निर्वाचन लडेर विजयी भएका खतिवडा सँग पहिलो पटक निर्वाचनमा सहभागी हुन लागेका बर्तौलाको भिडन्तले मकवानपुर २ को निर्वाचन रोचक बन्ने भएको छ । यसै विषयमा रहेर बर्तौलासँग  गरेको कुराकानी :

मकवानपुर २ मा उम्मेदवारी दिनुभएको छ, तयारी कस्तो छ ?

अहिले हामी भेटघाट, पार्टीको आन्तरिक संगठनको तहमा भेला बैठक गर्दै निर्वाचनको माहौल बनाउन लागिपरेका छौँ । त्यसै गरी आम् रूपमा मेरो निर्वाचन क्षेत्रमा निर्वाचन मय परिस्थितिको विकास गर्ने कामको तयारी यति बेला हामी गरिरहेका छौँ । जनताको कुराहरू सुन्नमा हामी व्यस्त पनि छौँ ।

निर्वाचनको अनुभव नै नभएको तपाईँलाई जनताले पत्याउलान् त ?

यसमा दुई वटा कुरा छ । पहिलो कुरा के छ भने पहिलो कुरा मुलुकको विकास लागि, मुलुकको नेतृत्वको लागि र समृद्धिको लागि युवाहरूले जिम्मेवारी पाउन पर्छ कि पर्दैन भन्ने प्रश्न छ मेरो । यदि पाउन पर्छ भन्ने हो भने हामीले कहिलेसम्म कुर्नुपर्ने हो त ? मलाई लाग्छ जनताले त्यस तहबाट फैसला गर्छन् । त्यस कारण मलाई के लाग्छ भने निर्वाचनको अनुभव त जिते पछि न हुने हो ।

त्यस कारण मलाई जनताले मुलुकको लागि र मकवानपुर क्षेत्र २ को समग्र विकासको लागि मलाई पत्याउनुहुन्छ भन्ने मलाई विश्वास छ । अर्को कुरा के छ भने यो निर्वाचनमा जनप्रतिनिधि भएपछि जनताको सेवा गर्ने हो । तर विगतमा जनप्रतिनिधि भएकाहरूले  जनताको पिर मर्कामा कसरी काम गरेका छन् त्यो कुरालाई जनताले पनि बुझेका छन् । त्यस कारण मलाई विश्वास गरेर मलाई विजयी गराउनुहुन्छ भन्नेमा ढुक्क छु ।

अघिल्लो निर्वाचनमा  आफैँले सघाउनुभएका आफ्नै गुरुसँगको यस पटक चुनावी मैदानमा हुनुहुन्छ, कत्तिको सजिलो अप्ठ्यारो लागिरहेको छ ? 

मलाई असाध्यै सजिलो छ । पहिलो कुरा जनताले के हेरेका छन् भने उहाँ आफै संगठनको बलमा चुनाव लड्न खोजिरहनु भएको छैन । उहाँले आफूलाई जुन पार्टीबाट प्रतिनिधित्व गर्नुहुन्छ, त्यो पार्टीको जनमत के छ भन्ने कुरा हामी सबैलाई थाहा छ । अहिले उहाँ कांग्रेस, माओवादी जस्ता पार्टीले दुःख गरेर बनाइदिएको संगठनको छातीमा टेकेर चुनाव जित्छु भनेर हिँडिरहनुभएको छ । तर मेरो विचारमा के छ भने म यति बेला नेकपा एमालेको मात्रै होइन नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका सबै दलहरूको लाखौँ युवाहरूको म साझा उम्मेदवार पनि हुँ ।

त्यस कारण म राजनीतिमा नयाँ इच्छा, चाहना र आकर्षण पनि युवाहरूमा जोडिएको छ । तर मूलधारको राजनीति गरिरहेको कतिपय व्यक्ति प्रवृत्तिका कारणले धेरैमा निराशा छ । स्वतन्त्र ढंगले नयाँको खोजी गर्दै हिँड्नुभएको युवाको जमात पनि ठुलो छ म उहाँहरूको पनि साझा उम्मेदवार हुँ । त्यस कारणले पनि कुनै समय मेरो गुरु रहेका विरोध खतिवडासँग प्रतिस्पर्धामा मलाई असहज र चुनौती छ जस्तो लाग्दैन ।

मकवानपुर क्षेत्र नम्बर २ का जनताले तपाईँलाई नै मत दिनु पर्ने किन ? 

म एउटा मकवानपुरको विकासको लागि केही गर्छु भनेर आत्मबल, उच्च शक्ति र आत्मविश्वास बोकेर राजनीतिक यात्रामा आएको छु । अब मलाई नछान्दा, मलाई नरोज्दा यहाँहरूले रोज्ने मान्छे को हो त ? एक पटक हेरौँ त । महेश बर्तौलाले निर्वाचन हार्दा जित्ने को हुन् ? उनले अहिलेसम्म कस्ता राम्रा कामहरू गरे ? यो विषयमा अध्ययन गरौँ पनि भन्न चाहन्छु ।

मैले हार्दा मकवानपुर फेरी पनि पाँच वर्षको लागि पछि पर्छ । मेरो उच्च जनसेवा गर्ने आत्मबल नै मलाई मत दिनुपर्ने आधार हुन् जस्तो लाग्छ । यहाँको शैक्षिक, पूर्वाधार, खानेपानी, स्वास्थ्य लगायतका विकासमा मेरो सधैँ पहिलो प्राथमिकता रहनेछ ।

यहाँका प्रमुख एजेण्डा के हुन् ? 

मेरो कार्यकालमा म प्रत्येक नागरिकको दैलोमा पिउने पानीको सुनिश्चितता गर्छु, यो मेरो पहिलो एजेण्डा हो । त्यसका लागि पनि जनताले मत दिनुपर्ने हुन्छ । त्यसपछि  मेरो निर्वाचन क्षेत्रमा सार्वजनिक सेवा प्रवाह जनमुखी, छिटो, छरितो, सरल र पारदर्शी ढंगले जनताले सुविधा पाउने सुनिश्चितता गराउँछु ।  त्यसै गरी मकवानपुरलाई भ्रष्टाचार अन्त्य र सुशासनको लागि म दृढताको साथ लाग्नेछु । म विद्यार्थी आन्दोलनबाट राजनीतिमा लागेको युवा भएको हुँदा पनि म ग्रामीण भेगका विद्यालय स्तरोन्नोति लागि पहल गर्ने छु ।

थानकोट–चन्द्रागिरि–चित्लाङ सडक खण्डको बाटोलाई स्तरीकरण गर्दै त्यहाँबाट इन्द्र सरोवर कलंकीसम्मको बाटोलाई स्तरोन्नती गर्दै आन्तरिक र बाह्य पर्यटक टिकाउने हबको रूपमा विकास गर्ने छु ।  त्यसको लागि थाहा नगरको मुलाबारीमा अघिल्लो कार्यकालका मेयर लवशेर बिष्टले राष्ट्रिय विभूति पार्क निर्माणका लागि डिपिआर गरेर मन्त्रालयमा पेस गरिसक्नुभएको रहेछ । त्यो प्रस्तावलाई मेरो कामको योजना बनाएर उक्त विभूति पार्क निर्माण गर्ने छु ।

अन्त्यमा, क्षेत्र नम्बर १ मा कमल थापालाई एमालेले टिकट दिइएकोमा कार्यकर्ता नै रुष्ट देखिन्छन्, यसबारेमा के भन्नुहुन्छ ? 

कतिपय राष्ट्रिय राजनीतिको आवश्यकताले धेरै कुराहरू निर्धारण गर्छ । हामीले मकवानपुरका छ वटै निर्वाचन क्षेत्रहरूमा सूर्य ध्वजा बाहक उम्मेदवारहरू उठाएका छौँ । पात्रको विषय म धेरै जान चाहन्न । रत्नाकार डाकु पनि बाल्मिकि जस्तो विद्वान् पनि बन्न सफल भए । हामी सबैलाई थाहा छ । मान्छेले आफ्नो रूपान्तरण गर्न पाउँछन् । किनभने मान्छेले आफूलाई नयाँ ढङ्गबाट आत्मासाथ गर्दै राज्यको पक्षमा र जनताको पक्षमा काम गर्छु भन्न पाउँछ ।

एमाले भित्र यस विषयमा कुनै विवाद पनि छैन । आफ्ना नेता, कार्यकर्ता र मतदातालाई कसरी ध्यान पुर्‍याउने भन्ने कुरा हाम्रो नेतृत्वले ध्यान पुर्‍याउने नै छ । त्यस कारण यो कारणले नकारात्मक असर पर्ला जस्तो मलाई लाग्दैन । यो विषय त्यति धेरै महत्त्वको विषय हो जस्तो पनि लाग्दैन ।

प्रतिक्रिया
310916472_6097762966918487_3213840392148661958_n