कात्तिक १८ गतेभन्दा अघि कोणसभा र आमसभा नगर्न आयोगको चेतावनी

पालिका डायरी
३१ आश्विन २०७९, १६:३४
राष्ट्रिय सभा सदस्य निर्वाचन : आज मनोनयनपत्र र उजुरीको जाँचबुझ गर्ने आयोगको तयारी

काठमाण्डाै / निर्वाचन आयोगले आउँदो कात्तिक १८ गतेभन्दा अघि राजनीतिक दलहरूले चुनाव प्रचारप्रसारका लागि कोणसभा र आमसभा गर्न नपाउने बताएको छ ।

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले चुनाव हुनुभन्दा १७ दिन अगाडिदेखी मात्रै कोणसभा र आमसभा गर्न पाउने व्यवस्थाअनुसार कात्तिक १८ गतेदेखि मात्रै कोणसभा र आमसभा गर्न पाउने बताउनुभयो । यदि कात्तिक १८ गतेभन्दा अगाडि कोणसभा र आमसभा गरेर चुनावको आचारसंहिता उल्लङ्घन गरेको पाइएमा उम्मेदवारको मनोनयन खारेजसम्म गर्ने उहाँले चेतावनी दिनुभएको छ । निर्वाचन आचारसंहितामा मतदानको १७ दिनअघि मात्रै दल तथा उम्मेदवारले कोणसभा, आमसभा, सेमिनार, गोष्ठी गर्न पाउने व्यवस्था राजनीतिक दलहरूको समर्थनमा राखिएको पनि आयुक्त भण्डारीकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘अहिले कोणसभा, आमसभा, गोष्ठी, सेमिनारलगायतका कुनै पनि विषयमा चुनाव प्रचारप्रसार गर्न पाइँदैन, दलका प्रतिनिधिको सहमतिमा समेत बनेको आचारसंहिताले चुनाव हुने दिनभन्दा १७ दिन अघि भनेकोले कात्तिक १८ गतेदेखि मात्रै चुनाव प्रचारप्रसार गर्न पाइन्छ । त्योभन्दा अगाडि चुनाव प्रचारप्रसार गर्ने लगायतका क्रियाकलाप गर्न पाइँदैन भनेर आचारसंहिताले निषेध गरेको छ ।’

यस्तै आयुक्त भण्डारीले अहिले घरदैलोमा जाँदा बढीमा २५ जनासम्मको समूहमा जान सकिने बताउनुभयो । तर घरदैलोमा जाँदा पनि बाजागाजा बजाउने तथा भोजभतेर गर्न नपाइने उहाँले बताउनुभयो । अहिले घरदैलाेको क्रममा पनि राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै उजुरी आइरहेको पनि उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘थुप्रै ठाउँबाट घरदैलो जाने सन्दर्भमा तामझाम गरेर जानुभयो भन्ने उजुरी आएका छन् । भोजभतेर गर्न पनि सुरु भएको छ भन्ने उजुरी परेका छन् । उजुरीको छानबिन गरिरहेका छौँ । चुनाव प्रचारप्रसारका क्रममा आचारसंहिता उल्लङ्घन भएमा आयोगले कठोर कारबाही गर्छ ।’

प्रतिक्रिया