नवौँ राष्ट्रिय खेलकुदः भारोत्तोलनमा टीकामायाले स्वर्ण जितिन्

पालिका डायरी
३१ आश्विन २०७९, १६:३१

नेपाल पुलिस क्लबकी टीकामाया गुरुङले नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत भारोत्तोलनमा स्वर्ण पदक जितेकी छिन् ।

पोखरामा जारी भारोत्तोलनको ५५ केजी तौल समूहतर्फ पुलिसकी टीकामायाले स्वर्ण जितेकी हुन् । यसअघि आइतबारको पुलिसले ३ स्वर्ण जितेको थियो । योसँगै पुलिसले चार स्वर्ण जित्न सफल भएको छ ।

आर्मीले भने एक स्वर्ण जितेको छ । टीकामायाले स्न्याचमा ६० र क्लिन एण्ड जर्कमा ८० गरी कुल १४० केजी भार उठाउँदै स्वर्ण जित्न सफल भएकी हुन् ।

यस्तै, नेपाल आर्मीकी प्रभा थारुले स्न्याचमा ५८ र क्लीन एण्ड जर्कमा ७१ गरी कुल १२९ केजी भार उठाउँदै रजत जितिन् । लुम्बिनी प्रदेशकी कृष्णकला विष्टले कास्य जितिन् । उनले स्न्याचतर्फ ५६ र क्लीन एण्ड जर्कमा ७२ गरी कुल १२८ केजी तौल उठाउन सकिन् । उनी प्रभाको तुलनामा १ केजीमात्र भार कम उठाउँदा कास्यमा सीमित भएकी हुन् । प्रतियोगितामा १२ जना खेलाडीले भाग लिएका थिए ।

कात्तिक २ सम्म चल्ने प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ गरी कुल १०-१० इभेन्टमा खेल हुनेछन् । जसमा महिला ७६ र पुरुष ९६ गरी कुल १ सय ७२ जना खेलाडीले भाग लिएका छन् । प्रतियोगितामा २० स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया