कांग्रेस प्रवक्ता भन्छन्- योग्य साथीहरूलाई पनि टिकट दिन सकेनौँ

पालिका डायरी
३१ आश्विन २०७९, १६:२७
कांग्रेस प्रवक्ता भन्छन्- योग्य साथीहरूलाई पनि टिकट दिन सकेनौँ

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशसरण महतले प्रचार संयन्त्रमा निर्वाचन प्रचारको तयारी भइरहेको बताएका छन् । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पाँच दलले गठबन्धन बनाएको उल्लेख गर्दै उनले सोही अनुसार प्रचार संयन्त्र बनाइने बताए ।

गठबन्धनले संविधान र मुलुकलाई ट्र्याकमा ल्याएको महतको दाबी छ । ‘गत वर्ष असारमा भएको गठबन्धनले ट्र्याकमा ल्याएको छ । कोभिड नियन्त्रणमा लिएको छ, अन्तर्राष्ट्रिय सम्बन्धमा सन्तुलन ल्याएको छ,’ सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भने ।

गठबन्धन सरकारले सफलतापूर्वक स्थानीय चुनाव गराएको उल्लेख गर्दै उनले प्रतिनिधिसभाको चुनाव पनि भयरहीत वातावरणमा सम्पन्न गराउने उनले बताए । ‘गठबन्धन संस्कृतिअन्तर्गत सिट बाँडफाँड गरेर जादैछौँ,’ उनले भने ।

जसपाले गठबन्धन छाडेर गएको विषयमा टिप्पणी नगर्ने उनको भनाइ थियो । तर, आफूहरूले सम्मानजनक स्थान दिएको उनको दाबी छ । ‘जसपाले गठबन्धन छाडेर जानुभयो । त्यसमा टिप्पणी गर्दिनँ,’ महतले भने, ‘कांग्रेसले सम्मानजनक स्थान दिएकै हो ।’

सबै क्षेत्रमा पार्टीका उम्मेदवार नहुँदा पनि मतदाता परिचालन गर्न आफूहरू सफल हुने उनको दाबी छ । सिट कम हुँदा पार्टीभित्रका आकांक्षीहरूलाई सम्बोधन गर्न कठिनाइ भएको उनले बताए ।

प्रतिक्रिया