स्वर्ण जितेका शिवराज भन्छन्– जागिरले डाइट खान पनि पुग्दैन

पालिका डायरी
२९ आश्विन २०७९, १४:४४
स्वर्ण जितेका शिवराज भन्छन्– जागिरले डाइट खान पनि पुग्दैन

शनिबार पोखरा रंगशालामा एपीएफ क्लबका शिवराज पार्कीले एथ्लेटिक्सको सय मिटर दौडमा स्वर्ण जिते । स्वर्ण जितेलगत्तै उनको आक्रोश थियो, ‘सरकारले अहिलेसम्म केही गरेन ।’ आफ्नो तलबले खेलका लागि डाइट खानसमेत नपुगेको भन्दै उनले आक्रोश पोखे ।

नवौँ राष्ट्रिय खेलकुदको एथ्लेटिक्सअन्तर्गत सय मिटर दौडमा एपीएफका शिवराज पार्कीले स्वर्ण जितेका छन् । उनले आर्मीका युवराज विकलाई पछि पार्दै ३३ वर्षको उमेरमा स्वर्ण जिते । शिवराजले १०.५६ सेकेन्डमा निर्धारित दूरी पूरा गरे । त्यस्तै, रजत पदक जितेका युवराजले १०.५८ र कास्य पदक जितेका आर्मीकै डिल्ली भण्डरीले १०.६० सेकेन्डमा निर्धारित दूरी पूरा गरे ।

गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता जारी छ । खेलाडीले स्वर्ण जित्ने क्रम बढ्दो छ । तर स्वर्ण जितेका खेलाडी पनि सन्तुष्ट छैनन् । थोरै तयारी, कमजोर व्यवस्थापन र सेवा सुविधाकै आभावको विद्रोह खेलाडीले गरिरहेका छन् ।

स्वर्ण जितेको खुशी शिवराज पार्कीको अनुहारमा केही बेर मात्रै देखियो । त्यसपछि फेरि पूरानै पीडा र समस्या झल्किन्थ्यो उनको अनुहारमा । एपीएफमा जागिरे शिवराजले तलबले खेलको लागि डाइट खान समेत नपुगेको दुखेसो पोखे ।

उनले भने, ‘जागिरले त डाइट खान नै पुग्दैन । घरबाट आश गर्छ जागिर भएपछि पैसा दिन्छ कि भनेर तर मैले अहिलेसम्म एक रुपैयाँ पनि दिएको छैन । घर जान्छु । काठमाडौं फर्किदा घरबाट टिकटको पैसा दिएर पठाउनुहुन्छ ।’

त्यसो त उनी अब दुई सय मिटरमा दौडिने छन् । यो विधामा पनि उनी स्वर्ण जित्ने लक्ष्यमा छन् । उनी भन्छन्, ‘अब मेरो लक्ष्य भनेकै एसियन गेम्स हो । त्यस्तै, २०० मिटरमा पनि स्वर्ण जित्ने हो ।’

प्रतिक्रिया