बेरोजगारको समस्या समाधानका लागि मेरो उम्मेदवारी : विनोद चौधरी

पालिका डायरी
२८ आश्विन २०७९, १६:४१

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् उद्योगपति विनोद चौधरीले रोजगारका लागि विदेशिने युवाको जमातलाई स्वदेशमै रोजगारी सिर्जना गर्न आफूले उम्मेदवारी दिएको बताउनुभएको छ ।

आज शुक्रवार एशोसिएशन अफ चार्टर्ड एकाउन्टेन्टस (एक्यान) ले गरेको दिगो आर्थिक विकास सम्मेलनमा उहाँले आउँदाे मङ्सिर ४ गते हुने चुनावमा आफूलाई भोट हालेर युवाको समस्या समाधानमा सहयोग गर्न आग्रह गर्नुभएको हो । उहाँले अब योजना र भिजन भएका युवा राजनीतिमा आउनुपर्ने बताउनुभयो ।

चौधरीले देशकाे दिगो विकास अगाडि बढाउनका लागि पैसा, शक्ति केन्द्र प्रयोग गर्न कमी नहुँदासमेत युवाको समस्या परिपूर्तिका लागि आफू राजनीतिमा लागेको बताउनुभयो । युवाले खोजेको रोजगारी र नेपाल बनाउनका लागि प्रत्यक्ष चुनावमा उठेकाे उहाँकाे भनाइ छ । चौधरीले सबै चार्टर्ड एकाउन्टेन्टसहरूलाई भेटेर भोट माग्ने आकाङ्क्षा रहे पनि स्म्भव नहुँदा चुनावमा आफूलाई जिताउन फोरमबाट नै सहयोगको अपेक्षा गर्नुभयो ।

चौधरीले आफूले चार्टड अकाउन्टेन्ट हुने धोका पूरा गर्न नसकेको भन्दै अहिले चार्टर्ड एकाउन्टेन्टकाे जमात हेर्दा आफू चुकेको जस्तो लाग्ने बताउनुभयो । उहाँले आफू जनताको प्रतिनिधि भएको र विकासका लागि राजनीति गर्न आएको उल्लेख गर्नुभयाे ।

चौधरीले आफूलाई धन सम्पत्तिकाे कुनै खाँचो नरहेको तर आफू जनताको प्रतिनिधि भएकाले विकासका लागि राजनीति गर्न आएको दोहाेर्‍याउनुभयाे । नेपालमा बहुमतको सरकार आए पनि विकासको नाममा कुनै सिन्को नभाँचेको उहाँले गुनासो गर्नुभयो । उहाँले नेपालमा धेरै राजनीतिक परिवर्तन भए पनि देशको अवस्था नबदलिएकाे बताउनुभयो ।

प्रतिक्रिया