लुम्बिनीमा थन्किएका बिजुली बस आजदेखि सञ्चालनमा

पालिका डायरी
१३ आश्विन २०७९, १६:००

लामो समयदेखि लुम्बिनीमा थन्किएका बिजुली बस आजदेखि सञ्चालनमा आएका छन् । दशैँको अवसर पारेर लुम्बिनी विकास कोषले आजदेखि विद्युतीय गाडीको औपचारिक यान्त्रिक परीक्षण स्वरुप सञ्चालनमा ल्याएको हो ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, कोषका कोषाध्यक्ष सिद्विचरण भट्टराईले शुभारम्भ गर्नुभयो । पाँचवटा विद्युतीय बस लुम्बिनी एअरपोर्ट बेलहिया हुँदै रामग्राम, लुम्बिनी एअरपोर्ट हुँदै बुटवल गोलपार्क, लुम्बिनीबाट तिलौराकोट साइट परिक्रमा, लुम्बिनी वरिपरि सटल बस, लुम्बिनीबाट एअरपोर्ट बेलहिया मणिग्राम हुँदै देवदह रूटमा गाडी चल्नेछन् ।

होटल एसाेसिएशन, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कोषका तर्फबाट एक–एक बसका लागि चालकको जिम्मेवारी लिएका छन् । कम्तीमा १५ दिनसम्म नै यो सेवा सञ्चालन गरी परीक्षणकाल सकेर औपचारिक सुरु गर्ने कोषका कोषाध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।

कोषको सचिवालय बैठकले बोर्ड सदस्य विश्वराज पौडेलको संयोजकत्वमा तीन सदस्यीय परीक्षण एकाइ पनि गठन गरेको छ । यसअघि कोषाध्यक्ष सिद्धिचरण भट्टराईको संयोजकत्वमा गठित कार्यदलले विद्युतीय बस सञ्चालनका लागि कार्यविधि बनाएर कोषका अध्यक्ष संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई बुझाइसकेको छ ।

प्रतिक्रिया