भ्रमण खर्च नदिएको झोकमा विद्यार्थीले गरे नगरपालिकामा तोडफोड
भ्रमण खर्च नदिएको भन्दै विद्यार्थीको समूहले बाराको सिम्रौनगढ नगरपालिकाको कार्यालयमा तोडफोड गरेका छन् । भ्रमण खर्च माग्न कार्यालय पुगेका विद्यार्थीको समूहले नगरपालिका तोडफोड गरेका हुन् ।
तोडफोडबाट नगरपालिकामा लाखौंको क्षति पुगेको छ । विद्यार्थीले कार्यालयको विभिन्न शाखामा रहेको कम्प्युटर, फर्निचर, झ्याल, ढोका, सिसा, गाडी, एसीलगायतका सामान तोडफोड गरेका छन् ।
कंकाली, खजानी, कचोर्वा माध्यमिक विद्यालयका विद्यार्थी नगर प्रमुख किशोरी साहलाई भेटन कार्यालय पुगेका थिए ।
प्रमुख साहले हाल डेंगुको प्रकोप रहेको र केही समयपछि भ्रमणमा जान अनुरोध गरेपछि विद्यार्थीले तोडफोड गर्न थालेको कार्यालयका कर्मचारीले बताएका छन् ।
नगर प्रमुख साहले डेंगुको प्रकोप कम भएपछि भ्रमण खर्च उपलब्ध गराउने बताएका थिए । तर तत्काल भ्रमण खर्च पाउनुपर्ने भन्दै विद्यार्थीले कार्यालयमा तोडफोड गरेका हुन् ।
कार्यालय तोडफोड भएको सूचना पाएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल घटनास्थल पुगेको थियो ।
प्रहरीले तोडफोडमा उत्रिएका विद्यार्थीलाई तितरवितर पार्न लाठीचार्ज गर्नुपरेको थियो ।
घटनापछि बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले कार्यालयको तोडफोडको विषयमा जानकारी लिएका थिए । प्रहरी उपरीक्षक बोगटीले घटनाको अनुसन्धान थालिएको बताए ।