प्रदेश सभाको कार्यकाल सकियो तर सरकारी गाडीहरू नेताकै कब्जामा

पालिका डायरी
४ आश्विन २०७९
प्रदेश सभाको कार्यकाल सकियो तर सरकारी गाडीहरू नेताकै कब्जामा

प्रदेश सभाको कार्यकाल सकिए पनि प्रदेशसभा अन्तर्गतका विषयगत समितिका निवर्तमान सभापति, दलका नेता र प्रमुख सचेतकहरूले आफू चढ्दै आएका सवारीसाधन फिता गरेका छैनन् ।

प्रदेशसभा सदस्यको पदावधि असोज १ गते राति १२ बजेदेखि सकिए पनि पदीय सुविधा स्वरूप संसद सचिवालयले उपलब्ध गराएका गाडी फिर्ता गर्न आलटाल गरिएको छ । आइतवारदेखि संसदको गाडी चढ्नु अनैतिक हो । प्रदेशसभा सचिवालयले संसदीय समितिका सभापति र दलका नेता र प्रमुख सचेतकलाई गाडी सुविधा उपलब्ध गराउँदै आएको छ । सभापति, नेता र प्रमुख सचेतकले गाडीसँगै इन्धन, मर्मत खर्च पनि पाउँछन् । प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले कसैले पनि अहिलेसम्म गाडी फिर्ता नगरेको बताए ।

‘हामीले अझै औपचारिक कार्यक्रम राखेर माननीय ज्यूहरूलाई बिदाइ कार्यक्रम राखेका छैनौं,’ सचिव पुनले भने, ‘गाडी अहिलेसम्म कुनै समितिका सभापति, दलको नेता र सचेतकले बुझाउनुभएको छैन ।’ लुम्बिनी प्रदेशमा ६ वटा विषयगत समिति थिए । सरकार हेरफेरसँगै डेढ वर्षदेखि रिक्त समितिले गएको साउन १३ गते मात्र पूर्णता पाएका थिए ।

संसद सचिवालयका सहायक स्टोर किपर (नायब सुब्बा) दीपेन्द्र पन्थीले कुनै समितिका सभापति, दलका नेता, प्रमुख सचेतकबाट गाडी फिर्ता नभएको बताए । पन्थीले सचिवालयका पदाधिकारी र प्रमुख सचेतकका स्वकीय सचिवहरूले चढ्ने मोटरसाइकलहरू पनि फिर्ता नगरिएका जानकारी दिए ।

सार्वजनिक लेखा समितिका सभापति विष्णु पन्थीले आफू काठमाडौंमा रहेकाले प्रदेशसभा सचिवालयलाई घरमा रहेको गाडी चालक पठाएर लैजान अनुरोध गरिसकेको बताए । उनले भने, ‘मलाई गाडीको लोभ छैन । घरमा गाडी छ । सचिवालयलाई चालक पठाएर गाडी लैजान भनिसकेको छु ।’ पन्थी पनि गएको साउनमा सभापतिमा निर्वाचित भएका थिए ।

नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खानले केही दिनभित्र गाडी संसद सचिवालयमा फिर्ता गर्ने बताए । ‘पदीय सुविधाले दिएको गाडी पद सकिएपछि फिर्ता गरिहालिन्छ नि !’ खानले भने, ‘प्रदेश सभाको कार्यकाल कहिले सकिने भन्नेमा विरोधाभास छ ।’

नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले एमालेबाट बनेका विषयगत समितिका सभापतिहरूले एकसाथ गाडी सभामा फिर्ता गर्ने तयारी गरेको बताए । अर्थ, उद्योग तथा पर्यटन समितिकी सभापति तारा जिसीले आफू गृहजिल्ला प्यूठानमा भएकाले २/३ दिनभित्र बुटवल आएर गाडी फिर्ता गर्ने बताइन् । राष्ट्रिय जनमोर्चाकी एकमात्र प्रदेश सांसद रहेकी जिसीले भनिन्, ‘चालक बिरामी हुनुहुन्छ । प्रदेशसभा सचिवालयसँग कुराकानी भएको छ । गाडी फिर्ता गर्छु ।’

प्रदेश मामिला तथा कानून समितिका सभापति दामाकुमारी शर्माले सभाको म्याद कहिले सकिने भन्ने अन्योल हुँदा गाडी फिर्ता नगरेको बताइन् । आफू जतिबेला पनि गाडी फिर्ता गर्न तयार रहेको शर्माको भनाइ छ । कृषि, वन तथा वातावरण समितिका सभापति जाल्ला भुसाल, सामाजिक विकास समितिका सभापति बाबुराम गौतम, भौतिक पूर्वाधार समितिका सभापति ढाँटी सुनार पनि आफूले चढ्दै आएको गाडी फिर्ता गरेका छैनन् । माओवादीका प्रमुख सचेत तुलाराम घर्तीमगरले पनि गाडी फिर्ता गरेका छैनन् ।

ट्रान्सपरेन्सी इन्टरनेसन नेपालका पूर्व अध्यक्ष खेमराज रेग्मीले पदीय रूपमा पाएका गाडी फिर्ता गर्न ढिलाइ गर्न नहुने बताए ।

प्रतिक्रिया
Lumbini_Pradesh_Sabha