अछाममा पहिरोको चपेटामा परेकालाई तत्काल राहत तथा उद्दारको व्यवस्था मिलाउन भीम रावलको माग

पालिका डायरी
१ आश्विन २०७९, १६:१२
अछाममा पहिरोको चपेटामा परेकालाई तत्काल राहत तथा उद्दारको व्यवस्था मिलाउन भीम रावलको माग

काठमाडौं / नेकपा (एमाले)का नेता एवम् पूर्वउपप्रधानमन्त्री डा. भीमबहादुर रावलले गृहजिल्ला अछामको विभिन्न स्थानमा पहिरोको चपेटामा परेकाहरुलाई तत्काल राहत तथा उद्धारको आवश्यक व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

शनिबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले अछामको कमल बजार, तुर्माखाँद र ढकारी गाउँपालिकामा गएराति आएको पहिरोमा पुरिएर १६ जना भन्दा बढिको ज्यान गएको र ठूलै धनमालको क्षति भएको उल्लेख गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य उपचारको व्यवस्था गर्न र पीडितलाई राहतको लागि आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरेका हुन् ।

त्यस अवसरमा उहाँले बाटो पहिरोले अवरुद्ध भएकाले नेपाली सेनाको हेलिकप्टर परिचालन गरि घाइतेहरुको उपचारका लागि चिकित्सकहरुको टोली परिचालन गर्न सरकारलाई सचेत गराए । नेता रावलले विपद्को यस घडीमा अछाम जिल्लाका पहिरो पीडितलाई राहत र उद्धारको काममा कमी हुन नदिन पनि सरकार गम्भीर हुने विश्वास व्यक्त गरे ।

उनले भने, ‘यो अविरल वर्षा र त्यसपछि आएको पहिरोको कारणले गर्दा अछाम जिल्लाको कमल बजार नगरपालिका, गाउँपालिका धेरै ठूलो धनजनको क्षति भएको छ । अहिलेसम्म प्राप्त सूचना अनुसार १६ जना भन्दा बढिको हताहत भएको खवर छ । स्थानीय प्रशासनका अनुसार । र, थुप्रै घरहरु पहिरोले पुरिएका छन् । कतिपय व्यक्तिहरु अहिलेसम्म पहिरोमै पुरिएको अवस्था छ । र, त्यहाँ पुग्नका लागि स्थानीय प्रशासन सशष्त्र प्रहरीहरु, नेपाल प्रहरीलाई त्यहाँ पुग्नका लागि पहिरोले बाटो अवरुद्ध ।’

उनले थपे, ‘यस सम्बन्धमा मेरो आज बिहान माननीय गृहमन्त्रीजी र सचिवजीसँग कुरा भएको थियो । गृहमन्त्रीजीले त्यहाँ आदेश गईसकेको कुरा गर्नु भएको छ । र, अहिले त्यहाँ लत्ताकपडा, भाडाकुँडा र घाइतेहरुको औषधिउपचारको अत्यन्त ठूलो खाँचो छ । त्यसका लागि म पुनः त्यहाँ जुन प्रकारको प्राकृतिक विपत्ति आएको छ । त्यसलाई एकदमै गम्भिर रुपमा लिएर हेलिकप्टरबाट त्यहाँ सामानहरु पु¥याउने, राहत र उद्धारको कामलाई तदारुपताका साथ गर्ने र चिकित्सकहरु पनि मैले थाहा पाएसम्म मंगलसेन अस्पताल र त्यहाँ उपलब्ध जस्तो अवस्था छ । त्यहाँ जान पनि कतिपय ठाउँमा बाटो अवरुद्ध भएको कारणले गर्दा घाइतेहरु भएको ठाउँमा पुग्न धेरै कठिन छ । त्यसकारण सेनाको हेलिकप्टरबाट चिकित्सकहरुको टोली त्यहाँ पठाइयोस् भन्ने कुरा पनि म माग गर्न चाहन्छु ।’

यसका साथै उनले स्थानीय प्रशासनसँग बुझ्दा राहत र उद्दारका लागि लत्ताकपडा, भाडाकुँडा आवश्यकता अनुसार पर्याप्त नभएको बताउँदै भनेका छन्, ‘त्यसका लागि समेत त्यहाँ तत्काल पठाइएन भने जो व्यक्तिहरु घाइते हुनु भएको छ । उहाँहरुलाई पनि बचाउन त्यसबाट कठिन हुन्छ । किनभने कतिपय ठाउँमा पहिरोका कारण बाटो अवरुद्ध भएको हुनाले त्यहाँ सुरक्षाकर्मीहरु पुग्न धेरै कठिन भएको छ । त्यसकारण यस्तो विपदको बेलामा हामी आज अन्तिम अवस्थामा पनि छौं । यसतर्फ म नेपाल सरकार र गृहमन्त्रीको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु ।’

नेता रावलले पहिरोको कारण बाटो अवरुद्ध हुँदा उद्धारका लागि गएका सुरक्षाकर्मीहरु समेत घटनास्थल अझै पुग्न नसकेको उल्लेख गर्दै तत्काल सेनाको हेलिकप्टर परिचालन गर्न पनि सरकारसँग अनुरोध गरे ।

प्रतिक्रिया