अछाम पहिरो : घाइतेको उद्धार र बेपत्ताको खोजीमा जुट्न गृहमन्त्री खाणको निर्देशन

पालिका डायरी
१ आश्विन २०७९, १२:१८
अछाम पहिरो : घाइतेको उद्धार र बेपत्ताको खोजीमा जुट्न गृहमन्त्री खाणको निर्देशन

काठमाडौं / गृहमन्त्री बालकृष्ण खाणले लगातारको वर्षापछि अछामका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी घाइते तथा प्रभावितको उद्धार तथा बेपत्ताको खोजीमा जुट्न निर्देशन दिएका छन्। उनले घाइतेको उद्धारमा तत्काल हेलिकप्टर पठाउन गृह प्रशासनलाई निर्देशन दिइका छन्।

गृहसचिव टेकनारायण पाण्डे, सुरक्षा तथा समन्वय महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेल र विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालालाई घाइते तथा प्रभावितको उद्धारका लागि तत्काल हेलिकप्टरको व्यवस्था गर्न उनले निर्देशन दिएका हुन्। उनले अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी र जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीलाई टेलिफोन गरेर घटनाबारे आजै जानकारीसमेत लिएका छन्।

खाणले मरासिनी र डाँगीलाई सरकारको प्रमुख दायित्व नागरिकको जीउधनको रक्षा गर्नुभएको भन्दै बाढी र पहिरोमा परी घाइते भएकाको उद्धार, प्रभावितलाई सुरक्षित स्थानमा सार्न र औषधि उपचार तथा खाद्यान्नको व्यवस्थापनका लागि कुनै कसर बाँकी नराख्न र जिल्लामा भएको स्रोत र साधनले अपुग भएमा मन्त्रालयमा तत्काल लेखी पठाउन निर्देशन दिएका छन्।

अछामको कमलबजार नगरपालिका तथा ढकारी र तुर्माखाँद गाउँपालिकामा विपदमा परेर मृत्यु हुनेको संख्या १२ पुगेको छ। ११ जना पहिरोमा परी बेपत्ता छन्। अहिले पनि वर्षा निरन्तर भइरहेकाले उद्धारमा कठिन भइरहेको प्रजिअ मरासिनीले बताए।

प्रतिक्रिया