लामिछाने र श्रेष्ठले पाए पहिलोपटक हट एयर बेलुन प्रविधिको लाइसेन्स
हट एयर बेलुनको इन्सपेक्सन र मेन्टिनेन्सका लागि नेपालमै पहिलोपटक प्राविधिक जनशक्ति तयार भएका छन् । हालै नागरिक उड्डयन प्राधिकरणबाट सन्तबहादुर लामिछाने र सुधीर श्रेष्ठले हट एयर बेलुनको प्राविधिकको लाइसेन्स प्राप्त गरेका हुन् ।
सन्तबहादुर लामिछाने रिक्रिएसनल एयरक्राफ्टस अल्ट्रालाइट, जायरोकप्टरका पाइलट पनि हुन् । उनी नेपालकै पहिलो एयरक्राफ्ट इन्जिनियर हुन् र नेपालमै पढेका पहिलो अल्ट्रा लाइट पाइलट पनि हुन् । एयरक्राफ्ट बनाउनका लागि तोकेको मापदण्डका आधारमा परीक्षा उत्तीर्ण गरेपछि उनले २००६ देखि प्राविधिक र पाइलटको रुपमा काम गर्दै आएका थिए । लामिछाने सन् २०१७ देखि नेपालको पहिलो र एकमात्र जायरोकप्टर पाइलट पनि हुन् ।
सुधीर पनि अल्ट्रालाइटका पाइलट हुन् । उनले पाइलट कोर्स दक्षिण अफ्रिकाबाट गरेर नेपाल आएका थिए । पोखरामा हट एयर बेलुन उड्ने भएपछि नेपालमा नै प्राविधिक उत्पादन गर्ने उद्देश्यले सन् २०१९ मा बेलायती प्रशिक्षक अलेक्जेन्डर ब्रेनकोर्टले आधारभूत तालिम दिएका थिए ।
एडभान्स तालिम सन् २०२२ को १० जुनदेखि १६ सम्म चलेको थियो । उक्त तालिम पश्चात लिइएको परीक्षामा पाइलटद्वय लामिछाने र श्रेष्ठ सफल भएका हुन् । योसँगै हट एयर बेलुनको प्राविधिक लाइसेन्स प्राप्त गर्ने पहिलो नेपाली लामिछाने र श्रेष्ठ नै बनेका छन् ।
सन् २०१९ मा सरकारले नेपालमै लाइसेन्स दिने नीति बनाएपछि नागरिक उड्डयन प्राधिकरणले परीक्षाको मापदण्ड तयार गरेको थियो । हट एयर बलुनको प्राविधिकका लागि ५ वटा पेपर पास गरेपछि मात्रै प्राधिकरणले अनुमति पत्र दिन्छ ।
‘लामिछाने र श्रेष्ठ हट एयर बेलुनको प्राविधिक हुनुअघि नेपाली प्राविधिक नभएका कारण सामान्य मर्मतका लागि पनि विदेशी प्राविधिक बोलाउनुपर्ने अवस्था थियो’ बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले भने, ‘समयमै प्राविधिक उपलब्ध नहुँदा एक दुई महिनामा नै अपरेसन बन्द गर्नुपर्ने अवस्था थियो । अब नेपालमै प्राविधिक भएपछि यस्तो परिस्थिति सिर्जना नहुने अपेक्षा गरेका छौ’ उनले भने ।