रवीन्द्र मिश्र उपाध्यक्ष बनेर राप्रपामा प्रवेश गर्दै

पालिका डायरी
२९ भाद्र २०७९, १७:३७
विवेकशील पार्टीका अध्यक्षबाट रवीन्द्र मिश्रद्वारा राजीनामा

अध्यक्ष राजेन्द्र लिङ्देनपछिको दोस्रो वरीयताको उपाध्यक्ष बनेर विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र राप्रपा प्रवेश गर्ने भएका छन् । राप्रपा र मिश्र निकट स्रोतहरुले उपाध्यक्षमा सहमति भइसकेको जनाएका छन् ।

राप्रपामा प्रवेशका लागि लामो समयदेखि संवादमा रहेका मिश्रले सहअध्यक्षको दाबी गर्दै आएका थिए । राप्रपामा हाल ६ उपाध्यक्ष रहेका छन् । राप्रपाका ८ जनासम्म उपाध्यक्ष हुनसक्ने व्यवस्थामा विधान छ ।

राप्रपा महामन्त्री भुवन पाठकले मिश्र प्रवेशको घोषणा एक/दुई दिनमै हुने बताए । ‘एक/दुई दिनभित्रै यस विषयमा औपचारिक घोषणा हुनेछ,’ महामन्त्री पाठकले भने । मिश्रलाई राप्रपाले काठमाडौं-१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने छ । मिश्रले असोजको पहिलो साता उम्मेदवारी औपचारिकरुपमा घोषणा हुने बताएका छन् । ‘असोजको पहिलो साता उम्मेदवारी घोषणा हुनेछ,’ मिश्रले भने । संविधान दिवसको दिन मिश्रको पुस्तक ‘विचारभन्दा माथि देश’ सार्वजनिक हुँदैछ । तर त्यसमा संविधानको मुख्य विशेषता संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रमाथि प्रश्न उठाइएको छ ।

२०७४ सालको चुनावमा मिश्र काठमाडौं-१ बाट विवेकशील साझा पार्टीका उम्मेदवारका रुपमा प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला उनी नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहसँग ८१८ मतले पराजित भएका थिए । सिंहले १० हजार ९ सय ३६ मत पाउँदा मिश्रले १० हजार १ सय १८ मत पाएका थिए । त्यस्तै वाम गठबन्धनका तर्फबाट उम्मेदवार भएका अनिल शर्माले ५ हजार ३ सय ३६ मत पाएका थिए ।

यसपटक काठमाडौं-१ बाट विवेकशील साझाका पूर्वनेता पुकार बमले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिने घोषणा गरेका छन् । मिश्रले जेठ ११ गते विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका थिए । स्थानीय तहको निर्वाचन पार्टीले अपेक्षित परिणाम हासिल नगरेको भन्दै उनले राजीनामा दिएका थिए । संघीयता र धर्मनिरपेक्षतामाथि जनमतसंग्रहको माग गर्दै आएका मिश्र पछिल्लो समय राजतन्त्र पुन:स्थापनाको पक्षमा खुलेका छन् ।

मिश्रले प्रकाशोन्मुख पुस्तक ‘विचार भन्दा माथि देश’ मा नेपालको भूराजनीतिक संवेदनशीलताको कारण राजतन्त्र पुन:स्थापना हुनुपर्ने बताएका छन् । मिश्रले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता नेपालको दूरगामी हितका लागि घातक भएको निष्कर्ष निकालेका छन् ।

यसपटक चुनावमा मिश्रले नेकपा एमालेको समर्थन जुटाउन खोजेका छन् । भदौको पहिलो साता एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए । त्यसपछि कान्तिपुरसँग कुरा गर्दै मिश्रले एमालेले चुनावमा समर्थन गर्ने विश्वास लिएको प्रतिक्रिया दिएका थिए ।

प्रतिक्रिया