भरतपुरमा विद्युतीय तारलाई भूमिगत बनाउन सुरु

पालिका डायरी
१८ भाद्र २०७९, १२:३८
भरतपुरमा विद्युतीय तारलाई भूमिगत बनाउन सुरु

भरतपुर महानगरपालिकामा विद्युतीय तारलाई भूमिगत बनाउन थालिएको छ । महानगरपालिकाका मुख्य बजार क्षेत्रका विद्युत वितरणतारलाई भूमिगत बनाउन थालिएको हो ।

भरतपुर महानगर कार्यालयको अगाडि पूर्व–पश्चिम राजमार्गमा शनिबार पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शिलन्यास गरेका हुन् । गैचीले खनेर उनीहरुले कामको सुरुवात गरेका थिए ।

पहिलो चरणमा बाइवास , पुल्चोक , केन्द्रीय बस ट्रमिनल चोकसम्मको रिङरोडमा विद्युतीय तार भूमिगत गरिनेछ । भरतपुर महानगरका अनुसार यो दुई अर्ब ५८ करोड भन्दा बढीको लागतमा दुई वर्षमा सकिने योजना हो । नेपाल सरकार, नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानी र एशियाली विकास बैंकको ऋण सहयोगमा गरिएको हो ।

महानगर प्रमुख रेनु दाहालले आगामी दिनमा यो योजना अन्य ठाँउमा पनि विस्तार गरिने बताइन् । ‘ पहिलो चरणमा रिङरोडका तारलाई भूमिगत बनाउँछौं, त्यसवपछि अन्य ठाँउमा निरन्तरता दिनेछौं , ’ दाहालले भनिन् , ‘ भूमिगत बनेपछि सहरको सौन्दर्यकरणसंगै सुरक्षित हुनेछ ।, ’ पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले यसलाई विकास मात्रै होइन जनताको सुरक्षासँग सम्बन्धित आयोजनाको रुपमा रहेको चर्चा गरे ।

पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तरगत तार भूमिगत गर्न लागिएको हो । भारतीय कम्पनी टाटा प्रोजेक्ट्स प्रा.लि.ले ठेक्का सम्झौता गरेको छ । नेपाल सरकार र प्राधिकरणको संयुक्त लगानी तथा एशियाली विकास बैंकको ऋण सहयोगमा गरिएको आयोजना दुईवर्षभित्र सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुरक्षा र सौन्दर्यताको काम भएको बताए । ‘ विद्युत वितरणलाई भूमिगत बनाउनुको उद्देश्य गुणस्तरीय र सुरक्षित सेवा हो। ’, उनले भने ।

विद्युतीय तार भूमिगत गर्ने कार्य भरतपुरमा निर्माणधीन ६ लेन सडक, बाइपासरोड र आँपटारीदेखि पुलचोकसम्मको रोडमा पहिलो चरणमा गरिने भएको हो। सो क्षेत्रको काम सुरु गरिएको छ ।

प्रतिक्रिया