प्रतिकिलाेमिटर ७० पैसामा गुड्छ बिजुली गाडी
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनमा बिजुली गाडी चार्ज गर्दा औसत प्रतिकिलाेमिटर ७० रुपैयाँ लाग्ने बताउनुभएकाे छ । मङ्गलवार प्राधिकरणले काठमाण्डाैकाे रत्नपार्कमा सञ्चालनमा ल्याएको चार्जिङ स्टेशन उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।
कार्यकारी निर्देशक घिसिङले भन्नुभयाे, ‘चार्जिङ स्टेशनमा बिजुली गाडी चार्ज गर्दा औसत प्रतिकिलोमिटरमा ७० पैसा लाग्छ । जबकि डिजल र पेट्रोलमा २० रुपैयाँ लाग्छ । बिजुलीबाट चल्ने माइक्रोबसमा ९० पैसा र ठूला बसमा एक रुपैयाँ २० पैसा लाग्छ । माइक्रोबसमा ९० पैसा र ठूला बसहरूमा १ रुपैयाँ २० पैसा लाग्छ । ’
घिसिङले चार्जिङ स्टेशनमा समयअनुसार फरक–फरक शुल्क लिइने पनि बताउनुभयाे । राति पिक समयमा ८ रुपैयाँ ७० पैसा, रातिको समयमा पाँच रुपैयाँ पाँच पैसा र बिहानदेखि दिउँसो चार्ज गर्दा ६ रुपैयाँ ९० पैसा निर्धारण गरिएकाे उहाँकाे भनाइ छ । उहाँले विद्युतीय बस तथा माइक्रोबसको चार्जिङ सस्तो भएपछि भाडा पनि सस्तो हुनुपर्ने भन्दै अहिले महँगो रहेको भाडालाई पनि नियन्त्रण गर्ने बताउनुभयो । उहाँले विगतमा विद्युतीय चार्जिङ स्टेशनको कुरा सोच्न पनि नसक्ने अवस्थामा रहेको तर अहिले चार्जिङ स्टेशन बनाउने अवस्थामा आउनु विद्युतीय क्षेत्रमा ठूलो परिर्वतन भएको बताउनुभयो ।
कार्यकारी निर्देशक घिसिङले निजी क्षेत्रले सञ्चालन गरेका चार्जिङ स्टेशनको चार्ज शुल्क नियन्त्रण गर्ने पनि बताउनुभयाे । उहाँले निजी क्षेत्रका चार्जिङ स्टेशनले प्रतियुनिट १५ रुपैयाँसम्म चार्ज शुल्क लिने गरेको पाइएकाले प्राधिकरणले तोकेअनुसार हुनुपर्ने बताउनुभयो । निजी क्षेत्रले बनाएका चार्जिङ स्टेशनमा प्राधिकरणले भन्दा २० प्रतिशत थप गरेर शुल्क लिन पाउने उल्लेख गर्नुभयाे ।
कार्यकारी निर्देशक घिसिङले देशभर ५१ वटा चार्जिङ स्टेशन बनाउने तयारीमा लागेको बताउनुभयो । देशका विभिन्न क्षेत्रमा विद्युतीय चार्जिङ स्टेशन बनाउनका लागि प्राधिकरणले निजी क्षेत्रलाई पनि सहमति दिने उहाँकाे भनाइ छ । उहाँले रत्नपार्कको चार्जिङ स्टेशनकाे १ सय २० किलोवाट डीसी क्षमता रहेको बताउनुभयो । उहाँले विद्युतीय गाडी एक घण्टाभित्र ‘फुल चार्ज’ गर्न सकिने बताउनुभयो ।