पशुपतिकाे मूल मन्दिरमा तस्बिर खिचे २ हजार १ सय रुपैयाँ जरिबाना

पालिका डायरी
१४ भाद्र २०७९

तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनले मूल मन्दिर र त्यस परिसरको तस्बिर खिचेमा नगद जरिबाना गरिने भएको छ ।

पशुपतिनाथको मूल मन्दिरभित्र प्राचीनकालदेखि नै तस्बिर खिच्न मनाही छ । पछिल्लो समय सबैका हातमा मोबाइल फोन हुने भएकाले चलाए जसरी तस्बिर खिच्ने क्रम बढ्न थालेपछि नगद जरिबानासहित कारबाही गर्न लागिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताउनुभयो ।

सनातनदेखि तस्बिर खिच्न मनाही गरिएको ठाउँको तस्बिर खिची सामाजिक सञ्जालमा राख्ने, टिकटक बनाउने गर्ने क्रम बढ्न थालेपछि कोषले जरिबाना गर्ने तयारी गरेको हो ।

गर्भगृहको तस्बिर खिचेमा  २ हजार १ सय रुपैयाँ, मुख्य मन्दिरको तस्बिर खिचेमा  १ हजार १ सय र मूल मन्दिर परिसरको तस्बिर खिचेमा  ५ सय रुपैयाँ जरिबाना गर्न लागेको हो । पशुपतिनाथ मूल मन्दिर क्षेत्रमा मोबाइलले तस्बिर खिचे नखिचेको अनुगमन गर्न कोषका कर्मचारी समूहले सूक्ष्म अनुगमन गर्न लागेको जानकारीसमेत उहाँले दिनुभयो ।

पशुपतिनाथका नित्य दर्शनार्थीलाई त्यसअघि नै दर्शन गरेर फर्कन पनि कोषले आह्वान गरेको छ । दर्शनार्थी बिरामी हुन सक्ने भएकाले मूल मन्दिर क्षेत्रमै नेपाली सेनाले स्वास्थ्य शिविर राख्ने भएको छ । पशुपति क्षेत्रको सुरक्षाका लागि सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको संयोजनमा गर्ने गरी व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया
pashupati_AmcLhnIkWh