आगामी निर्वाचनमा बहुमत ल्याउने संकल्पका साथ एमाले अघि बढ्छ : सचिव भट्टराई

पालिका डायरी
१० भाद्र २०७९, १४:५५
कोरोना नियन्त्रणमा एमालेले सरकारको ध्यानाकर्षण गराउने

काठमाडौं / नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने संकल्पका साथ आफ्नो पार्टी अघि बढ्ने बताएका छन् । सचिव भट्टराईले चालू केन्द्रीय कमिटी बैठकले सो निर्वाचनमा बहुमत ल्याउने संकल्पसहितको सन्देश दिने दावी समेत गरे ।

उनले मुलुकको आन्तरिक तथा बाह्य दुवै कारणले नेकपा (एमाले) नेतृत्वको सरकारको खोजी भइरहेको भन्दै सोही आवश्यक्ता पूरा हुने गरी आफ्नो पार्टीले केन्द्रीय कमिटीमार्फत् चुनावी रणनीति तय गर्ने पनि स्पष्ट पारे । सत्तारुढ गठबन्धन सरकारका कारण मुलुक संकटमा परेको आरोप लगाउँदै सचिव भट्टराईले त्यसबाट मुलुकलाई पार लगाउन आगामी निर्वाचनपछि एमाले नेतृत्वको सरकारको विकल्प नरहेको पटकपटक दोहो¥याए ।

उनले भनेका छन्, ‘आज यो गठबन्धनको कारणले मुलुक संकटमा छ । हाम्रो बैदेशिक सम्बन्धहरु बिग्री राख्या छ । अमेरिकासँग, भारतसँग, चीनसँग हाम्रो सम्बन्ध बिग्रेको छ । महाशक्ति राष्ट्रहरु चाँही नेपालको मामिलामा एकअर्काबीचमा भनाभन गरिराखेका छन् । नेपालले त्यसमा सन्तुलन गुमाइरहेको अवस्था देखिन्छ अहिलेको सरकारको कारणले । त्यसो भएको हुनाले विश्व समूदायसँग एउटा मैंत्रीपूर्ण सम्बन्ध राख्ने, पारस्परिक हितमा सम्बन्ध कायम गर्ने । नेपालको हितमा सम्बन्धहरु कायम गर्ने । त्यो असंलग्न परराष्ट्र नीतिलाई दृढताका साथ कार्यान्वयन गर्ने कुरा एउटा पक्ष भयो ।’

उनले फेरि भने, ‘अर्कोतिर नेपालको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको निम्ति एउटा बलियो राष्ट्रिय सामथ्र्य भएको शक्ति आवश्यक पर्छ । र, त्यो नेकपा एमाले हो । त्यसो हुनाले देश भित्रको आवश्यक्ताले नेकपा (एमाले)को नेतृत्व खोजी राखेको छ । अन्तराष्ट्रिय परिस्थितिमा पनि नेपाललाई एउटा सन्तुलित ढंगले उभ्याउन पनि नेकपा (एमाले)को नेतृत्व खोजिराखेको छ । यीनै कुराहरुका साथ हामी चुनावमा जान्छौं । र, बहुमत ल्याउने संकल्पका साथ एमाले जान्छ । र, यो केन्द्रीय कमिटी बैठकले त्यो सन्देश दिन्छ ।’

सचिव भट्टराईले आगामी निर्वाचनमा अन्तरघात नहुने गरी पार्टीको सिंगो पंक्तिलाई परिचालन गर्न पनि केन्द्रीय कमिटी बैठकले आवश्यक निर्देशन दिने बताए । उनले पार्टीको उम्मेदवार चयनमा स्थानीय तह निर्वाचनमा भएका कमीकमजोरीहरुलाई पनि आफ्नो पार्टीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा दोहोरिन नदिने दाबी गरे ।

उनले आगामी निर्वाचनमा आफ्नो पार्टीको प्राथमिकता गठबन्धन नभएको पनि स्पष्ट पारे । संवैधानिक व्यवस्था अनुसार चुनावमा दलहरुबीच प्रतिस्पर्धा हुने भएकाले आफ्नो दल आफ्नै सामथ्र्यमा उभिएर निर्वाचनमा जाने उनको तर्क थियो । सचिव भट्टराईले स्थानीय तह निर्वाचनमा भएको नकारात्मक सन्देशहरुबाट सिकेर आगामी निर्वाचनमा आफ्नो पार्टीले सम्पूर्ण शक्ति परिचालन गर्ने बताए ।

उनले भने, ‘नेकपा (एमाले)को मुख्य प्राथमिकता गठबन्धन होइन । चुनावी तालमेल होइन । नेकपा (एमाले) आफ्नो तागतमा आफ्नो सामथ्र्यमा, आफ्नो घोषणा पत्रको आधारमा, आफ्नो विचार र सिद्धान्तको आधारमा जनताको बीचमा जान्छ । र, पार्टीलाई सम्पूर्ण ढंगले यो निर्वाचनमा परिचालन गर्छ । गएको स्थानीय तह निर्वाचनमा हाम्रा केही नकारात्मक सन्देशहरु पनि छन् ।’

उनले फेरि भने, ‘पार्टीभित्र कहीँकहीँ उम्मेदवार छनौट नमिलेको, पारदर्शिता नभएको, पार्टी भित्र अन्तरघात भएको, मतहरु अदलबदल गरेको यस्ता केही घटनाहरु पनि प्रतिनिधिमूलक ढंगले विभिन्न ठाउँमा छन् । त्यसो भएको हुनाले आउने चुनावमा त्यस्तो नहोस् भन्नका लागि उम्मेदवार छनौंटमै व्यापक पारदर्शिता गर्ने । जसले जित्न सक्छ, जो इमान्दार छ । त्यो साथीले टिकट पाओस् भन्ने ध्यान दिने । टिकट पाइसकेपछि उसलाई जिताउनका लागि सिंगो पार्टी पंक्ति खर्लप्पै लाग्ने । यो स्पिरिटका साथ यो केन्द्रीय कमिटी बैठकले सिंगो पार्टी पंक्तिलाई निर्देश गर्छ ।’

सचिव भट्टराईले आगामी निर्वाचनमा आफ्नो पार्टीले इमान्दार र जित्न सक्ने नेताहरुलाई उम्मेदवार बनाउने मापदण्ड तय गरेको पनि बताए ।

प्रतिक्रिया