काठमाण्डाै महानगरले भत्काएको संरचना सम्बन्धित घरधनीले नै सफा गर्नुपर्ने

पालिका डायरी
१० भाद्र २०७९, १३:०४
काठमाण्डाै महानगरले भत्काएको संरचना सम्बन्धित घरधनीले नै सफा गर्नुपर्ने

काठमाण्डौ ‍/ काठमाण्डौ महानगरपालिकाले भत्काएको अवैधानिक संरचना सफा गर्न सम्बन्धित व्यक्ति र निकायलाई नै आग्रह गरेको छ ।

सम्बन्धित व्यक्ति र संस्थाले नहटाए महानगरपालकाले सरसफाइ गर्ने र त्यसको सबै खर्च सम्बन्धित व्यक्ति वा संस्थाले तिनुपर्ने महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले उज्यालोलाई बताउनुभयो ।

नियम विपरीत बनाइएका अवैधानिक संरचना भत्काइएको खण्डमा सम्बन्धित व्यक्तिले नै हटाउनु पर्ने नियम छ । यो नियमको अटेर गरे महानगरपालिकाले हटाउने र त्यसको सबै खर्च तिराउने मानन्धरले बताउनुभयो।

गएको साउन २ गते महानगरपालिकाले ३५ दिने सार्वजनिक सूचना निकाल्दै एउटा प्रयोजनका लागि बनाइएको व्यावसायिक भवनको बेसमेन्ट अन्य प्रयोजनका लागि प्रयोग नगर्न भनेको थियो ।

बेसमेन्टमा पार्किङ र गोदाम राख्ने भनेर नक्सापास भएका भवनमा घरधनीले पसल तथा होटल सञ्चालन गर्न दिएपछि महानगरले अभियानकै रूपमा त्यस्ता संरचना हटाउन थालेको छ । यस्ता अवैध संरचना महानगरपालिकाले हटाउन थालेपछि केही व्यवसायी आफैँले अन्डरग्राउण्डमा राखेका पसल हटाउन थालेका छन् ।

प्रतिक्रिया