चितवनमा सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

पालिका डायरी
३ भाद्र २०७९, ११:३६
accident

जिल्लाका दुई फरक स्थानमा शुक्रबार बिहानीपख भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार पृथ्वीराजमार्गको कुरिनटारमा ट्रकसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको हो । त्यसैगरी महेन्द्रराजमार्गको रत्ननगर खगेरी पुल नजिक गाडीको ठक्करबाट एक जना पैदलयात्रुको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । रत्ननगरमा दुर्घटनापछि केहीबेर स्थानीयले राजमार्ग अवरूद्ध गरेका थिए ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरि अधिकारीका अनुसार पृथ्वीराजमार्गको इच्छाकामना गाउँपालिका-४ कुरिनटारमा अघि बिहान साढे तीन बजेतिर काठमाडौंबाट नारायणगढतर्फ आइरहेको ना ६ ख ५९१३ नम्बरको ट्रकसँग बा८८प ५३०१ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । ट्रक र मोटरसाइकल एउटै दिशामा थिए । ट्रकको पछाडी मोटरसाइकल ठोक्किएको डिएसपी अधिकारीले बताए । ठक्करपछि मोटरसाइकलमा रहेका दुवैजना गम्भीर घाइते भएका कारण उपचारका लागि भरतपुर ल्याइएको थियो ।

उपचारका क्रममा एकजनाको बिहान सवा पाँच बजेतिर चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा मृत्यु भएको अधिकारीले जानकारी दिए । ती व्यक्तिको साथमा दैलेख ल्याती बन्द्रासाइनी नगरपालिका-६ बस्ने २५ वर्षका सरोज रोकायाको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) फेला परेको अधिकारीले बताए । सो लाइसेन्स मृतककै हो वा हैन एकिन नभइसकेको प्रहरीको भनाइ छ । त्यसैगरी मोटरसाइकलको पछाडी बसेका व्यक्तिको पनि उपचारको क्रममा सोही अस्पतालमा बिहान साढे पाँच बजे निधन भएको थियो । ती व्यक्ति काठमाडौं महानगरपालिका-११ बस्ने ३२ वर्षको सन्तोष माझी भन्ने खुल्न आएको डिएसपी अधिकारीले बताए ।

त्यसैगरी पूर्व पश्चिम महेन्द्रराजमार्गको रत्ननगर नगरपलिका-९ खगेरी पुल नजिक आज बिहान पौने ६ बजे गाडीको ठक्करका कारण पैदलयात्री स्थानीय गणेशचोकका ७५ वर्षीय खडकबहादुर राना मगरको ज्यान गएको छ । ठक्कर दिने गाडी पत्ता लागेको छैन । ठक्करका कारण गम्भीर घाइते भएका रानाको उपचारका क्रममा भरतपुरमा रहेको चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा बिहान सवा ६ बजे तिर निधन भएको डिएसपी अधिकारीले बताए । घटनापछि स्थानीयले बाटो अवरूद्ध गरेका थिए । ठक्कर दिएर फरार रहेको गाडी तत्काल खोज्ने सहमतिपछि बिहान पौने ९ बजेबाट बाटो खुलेको डिएसपी अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया