नागरिकता विधेयकमा जनमत विभाजित गर्ने काम सत्तापक्षले नगराेस् : ज्ञवाली

पालिका डायरी
२ भाद्र २०७९, १४:३५
अहिलेको बजेटले आर्थिक अस्थिरता ल्याउँछ : एमाले नेता ज्ञवाली

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले नागरिकता विधेयकजस्तो संवेदनशील विषयमा जनमत विभाजित गर्ने काम नगर्न सत्तापक्षलाई चेतावनी दिनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकमा राष्ट्रपतिबाट फिर्ता पठाइएको नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद ज्ञवालीले राष्ट्रपतिबाट फिर्ता भएर आएको विधेयकलाई सर्वस्वीकार्य बनाउने अवसरको रूपमा लिन पनि सत्तापक्षलाई आग्रह गर्नुभयो । नागरिकताजस्तो संवेदनशील विषयलाई ‘हेड काउन्ट’ को रूपमा नलिइ यसमा विवेक पुर्‍याएर आवश्यक निर्णय लिनुपर्ने उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘नागरिकताजस्तो संवेदनशील विषयलाई व्यवस्थित गर्न बनेको विधेयकमाथि यो महत्त्वपूर्ण दस्तावेजमा सुधार गर्ने एउटा महत्त्वपूर्ण अवसर सम्माननीय राष्ट्रपतिज्यूको सन्देशले दिएको छ । यसलाई यो सदनले गम्भीरतापूर्वक लिओस् र अधिकतम सदुपयोग गरोस् भन्ने म आग्रह गर्न चाहन्छु । तर सत्तापक्ष त्यसो गर्ने पक्षमा देखिने छैन । हिजोमात्रै सत्तारूढ दलहरू बसेर त्यसलाई जस्ताको तस्तै पारित गर्ने भनेर निर्णय सार्वजनिक भएकाे छ । सम्माननीय राष्ट्रपतिज्यूले लैङ्गिक समानता, आमाको प्रजनन अधिकार, उनको आत्मसम्मानजस्ता प्रश्नतिर ध्यानाकर्षण गराउँदै बाबुको स्वघोषणा गर्नैपर्ने बाध्यात्मक अवस्थाले आमाको आत्मसम्मानमा चोट पुग्छ कि पुग्दैन भन्ने असाध्यै महत्त्वपूर्ण प्रश्न उठाउनुभएको छ ।

म सभामुख महोदयलाई आग्रह गर्न चाहन्छु–त्यहाँ उठाइएको प्रत्येक प्रश्नमाथि यो प्रतिनिधि सभाले गम्भीरतापूर्वक पुनर्विचार गर्न जरुरी छ । यो दस्तावेज सिङ्गो राष्ट्रलाई प्रतिनिधित्व गर्ने, सबै भेग, समुदाय र सबै जनताको समस्या समाधानसँग जोडिएको प्रश्न हो । यो राष्ट्रिय एकता हासिल गर्ने दस्तावेज पनि हो सभामुख महोदय । यो केवल मधेसको वा कुनै समुदायकाे विषय होइन । तथ्यहरूले पनि त्यही बताउँछन् । चाहे जन्म वा जन्मसिद्धका आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई नागरिकता दिने प्रश्न होस्, चाहे वैवााहिक अङ्गीकृतको प्रश्न होस् । यो सिङ्गै देशको साझा सवाल हो । यस्तो संवेदनशील विषयलाई लिएर देशलाई विभाजित गर्ने, जनमतलाई विभाजित गर्ने काम किमार्थ गरिनु उचित हुँदैन । एउटा अवसर प्राप्त भएको छ । छिटोभन्दा छिटो यो टुङ्ग्याउन जरुरी छ ।

यसमा प्रमुख प्रतिपक्ष एकदमै रचनात्मक ढङ्गले सहयोग गर्न तयार छ । तर यसलाई जबरजस्ती गरेर टाउकाको गिन्तिको आधारमा गर्नुभयो भने यसका परिणामहरू राम्रा हुँदैनन् सभामुख महोदय । टाउकोको गणनाको आधारमा त २०३७ सालमा राजा वीरेन्द्रले पञ्चायतलाई जिताएको पनि घोषणा गरेका थिए । टिक्यो त्यो ? टिकेन । त्यसो भएर टाउकाको गणना ठूलो कुरा होइन । विवेकको गणना चाहिँ सबभन्दा ठूलो कुरा हो ।’

सांसद ज्ञवालीले याे विधेयकमा संसदीय नियमावलीअनुसार संशोधन प्रस्ताव राख्न पाउने अधिकार सुनिश्चित गर्न सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षणसमेत गराउनुभयो । नागरिककाे प्रतिक्रियालाई समेत सुनेर याे विधेयकबारे सदनले आवश्यक निर्णय लिनुपर्ने उल्लेख गर्दै उहाँले त्यसका लागि त्यहीअनुसार छलफललाई अघि बढाउन आवश्यक छ भन्नुभयाे ।

उपमहासचिव ज्ञवालीले संसदमा विचाराधीन याे विषयलाई सत्तारूढ गठबन्धनले जस्ताको तस्तै राष्ट्रपतिलाई फिर्ता पठाउने निर्णय गरेको भन्दै यसले संसद् र यसको गरिमाको धज्जी उडाएको आरोप पनि लगाउनुभयो ।

प्रतिक्रिया