नागरिकता विधेयकबारे छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुपर्छ : पोखरेल

पालिका डायरी
२ भाद्र २०७९, ११:३८
नागरिकता विधेयकबारे छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुपर्छ : पोखरेल

काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गर्नका लागि संघीय संसद्मा फिर्ता पठाएको नागरिकता विधेयकबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउनुपर्ने प्रमुख प्रतिपक्षी एमालेले माग गरेको छ ।

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बिहीबारको बैठकमा एमालेका प्रतिनिधि कृष्णभक्त पोखरेलले नागरिकता विधेयकबारे सबै दलहरूबीच छलफल हुनु आवश्यक रहेको बताएका हुन् । उनले सभामुख अग्निप्रसाद सापकोटालाई नागरिकता विधेयकबारे छलफल गर्नका लागि समय दिन पनि माग गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकबाटै नागरिकता विधेयक पारित गर्ने तयारी सरकारको रहेको बेला प्रमुख प्रतिपक्षीले भने त्यसपहिला सबै राजनीतिक दलहरूबीच छलफल हुनुपर्ने माग गरेको हो । सांसद पोखरेलले भने, ‘अहिलेको अहिल्यै पारित गरिहालौं भन्नुभन्दा राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता पठाउनुभएपछि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुपर्छ । त्यहाँ सबैका धारणा सुन्नुपर्छ ।’

एमालेका प्रतिनिधि शेरबहादुर तामाङले भने सभामुख सापकोटाले नै नागरिकता विधेयकमाथि छलफल गर्न सर्वदलीय बैठक बोलाउनुपर्ने माग गरेका छन् । ‘यो विषयमा सभामुखले सर्वदलीय बैठक बोलाउनु राम्रो हुन्छ,’ उनले भने ।

सत्तारुढ दलहरूले भने प्रतिनिधिसभाबाट विधेयक आजै पारित गर्नुपर्ने धारणा राखेका छन् ।

प्रतिक्रिया