प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर १ मै दुई स्वतन्त्र उम्मेदवारको चर्चा
हेटौंडा / प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणासँगै मकवानपुरमा स्वतन्त्र उम्मेदवारको चर्चा सुरु भएको छ । सरकारले मंसिर ४ गते एकै चरणमा निर्वाचन गर्ने घोषणा गरेसँगै जिल्लामा चुनावी सरगर्मी बढेको छ । त्यसोत राजनीतिक दलका नेताहरु उम्मेदवारी टुङ्ग्याउन दौडधुपमा लागिरहेका बेला स्वतन्त्र उम्मेदवारहरुको भने सामाजिक सञ्जार भर उम्मेदवारी घोषणा सुरु गरिरहेका छन् । त्यसो त मकवानपुरमा भने स्वतन्त्र उम्मेदवारहरु बीचमा समेत भीडन्त हुने देखिएको छ ।
अघिल्लो निर्वाचनमा राजनीतिक दलका नेताहरुले चासोको बिषयमा लिएको प्रतिनिधि तथा प्रदेश निर्वाचनमा राजनीतिक दलका उम्मेदवारहरु टुङ्गो लगाउन सास्ती बनिरहेको बेला मकवानपुरका स्वतन्त्र उम्मेदवारहरुको चर्चा सुरु भएको हो । निर्वाचनको मिति टुङ्गो लागेसँगै प्रतिनिधि सभा सांसदका लागि स्वतन्त्र उम्मेदवार चुनावी तयारीका लागि जुटेका छन् । गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको देशको राजधानी काठमाण्डौँ महानगर सहित धरान, धनगढी लगाएको स्थानीय तहमा स्वतन्त्र उम्मेदवार विजयी भएपछि नेपालमा स्वतन्त्र उम्मेदवारको चर्चा बढेको हो । यसको प्रभाव मकवानपुरमा समेत परेको पाइएको छ ।
दुईवटा संघिय र चार वटा प्रदेश तह रहेको मकवानपुरमा पनि सामजिक सञ्जाल मार्फत स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने कार्यको प्रारम्भ भएको हो । मकवानपुरमा तीन जनाले स्वतन्त्रबाट संघीय निर्वाचनमा होमिने बताए पनि एक आकांक्षीको रुपमा रहेका सन्तोष न्यौपाने भने केहि दिन अघि मात्रै रवि लामिछाने अध्यक्ष रहेको राष्ट्रिय स्वतन्त्र पार्टीमा समायोजित भएका हुन् । हालसम्म मकवानपुरका दुईजना युवाले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । घोषणा गर्नेहरुमा ब्यवसायी दिपेन्द्र चन्द ठकुरी र दिपिका शर्मा रहेका छन् । उनिहरुले सामजिक सञ्जाल फेसबुक मार्फत उम्मेदवारी घोषणा गरेका हुन् । राजनीतिक दलहरु भ्रष्ट्राचार र कमिसनको दलदलमा फसेर देश बर्बाद बनाएको भन्दै समाज सुधारको लागि आफुहरुको उम्मेदवारी रहेको दुबैको भनाई छ । दिपेन्द्रले मकवानपुरको क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने बताएका छन् दिपिकाले पनि क्षेत्र नम्बर १ बाट नै उम्मेदवारी दिने घोषणा सामाजिक सञ्जाल मार्पmत गरेकी छिन् ।
विगतमा स्थानीय तहको निर्वाचनको मतपरिणामलाई आधार मानेर पनि आफू स्वतन्त्र उम्मेदवार बन्न मन लागेको ठकुरी बताउँछन् । ‘काठमाण्डौं, धरान र धनगढीलाई हेरेर अब जनताले राजनीतिक दललाई भन्दा काम गर्ने खालको व्यक्ति पाए सजिलै जिताउँछन् भन्ने प्रमाणित भैसकेको छ,’ उनले भने । आफू प्रतिनिधि सभा सांसदको आकांक्षी भए पनि पछिल्ले समय अझै छलफल र गृहकार्य मै जुटिरहेको बताउँदै उनले भने, आकांक्षी भएकै कारण चुनावी मिति घोषणा भएपछि प्रतिनिधि सभामा उम्मेदवारी दिने भन्दै आएको छु । त्यसका लागि छलफलहरु प्नि भैरहेका छन् । तर पछिल्लो समय केहि साथीहरुले तँपाई प्रदेशमा उठ्नु पर्छ पनि भन्नुभएको छ । निर्णय गर्न अलि कठिन नै परेको छ मलाई यतिबेला । अझै तीन महिना समय बाँकी छ । सल्लाह गरौं । मेरो आकंक्षा भने प्रतिनिधि सभा सांसदमा नै हो ।
त्यसोत, यता क्षेत्र नम्बर १ बाट नै स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै सामाजिक सञ्जाल रंगाइरहेकी छिन् दिपिका शर्मा पनि । मकवानपुरको क्षेत्र नम्बर १ बाट नै महिला स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी शर्मा फाहोरी राजनीतिक दलदलबाट बाहिर रहेर जनताको पक्षमा वकालत गर्नका निम्ती उम्मेदवारीको घोषणा गरेको बताउँछिन् । आफ्नो उम्मेदवारी युवा नेतृत्व आउनुपर्छ भन्ने रहको बताउँदै उनले भनिन्, ‘बुढापाका नेताहरुले केही पनि गरेनन् । अब पार्टीगतमा लागेर भन्दा पनि जनताको पक्षमा लागेर काम गर्नुपर्छ भन्ने लागेर उम्मेदवारी घोषणा गरेकी हुँ । योजनाहरु धेरै छन् । तर त्यो योजनाहरु म अहिले नै सुनाएर नागरिकलाई दिक्क बनाउँन चाहान्नँ ।’
स्वतन्त्रकै दुई जना उम्मेदवार रहे पनि प्रतिस्पर्धामा उत्रने शर्मा बताउँछिन् भने हालसम्म शर्मा आफ्नो सम्पर्कमा नआएको कारण यो बारेमा सुनेको तर एकिन थाहा नभएको ठकुरी बताउँछन् ।