सरकार काम चलाऊ भइसक्यो: नेम्वाङ

पालिका डायरी
२१ श्रावण २०७९, १२:१८
सरकार काम चलाऊ भइसक्यो: नेम्वाङ

नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङले चुनाव घोषणासँगै सरकार काम चलाऊ भइसकेको बताएका छन्।

प्रेस चौतारी दाङले शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमा बोल्दै पूर्व सभामुख नेम्वाङले अब सरकारले दीर्घकालिन असर पर्ने निर्णय गर्न नहुने जिकिर गरे। उनले भने, “निर्वाचनको मिति घोषणा भएसागै यो सरकार काम चलाऊ सरकारमा परिणत भएको छ।”

सरकारले आगामी मंसीर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने घोषणा गरेको छ। आगामी चुनावबाट पाँच दलीय गठबन्धनलाई ठेगान लगाइने उनको भनाइ थियो। “यो गठबन्धन के का लागि भनेर जनताले बुझिसकेका छन्। त्यसको फेसला मंसीर ४ गते हुन्छ। जनताले दुधको दुध पानीको पानी छुत्याउने छन्।”

आगामी चुनावपछि एमाले सरकारको नेतृत्व गर्ने उनको दाबी थियो। “एमाले विरुद्ध जसरी गठबन्धन गरे पनि मंसीर ४ गतेपछि नयाँ जनादेश लिएर सिंहदरबार फर्किन्छौं,” नेम्वाङले भने, “महागठबन्धन गरे पनि एमालेलाई रोक्ने कसैको तागत छैन।”

एक अर्को प्रसङ्गमा पूर्व सभामुख नेम्वाङले सर्वोच्च अदालतलाई कायमुकामय प्रधानन्याधीशको भरमा चलाउनु लज्जाको विषय भएको बताए। चोलेन्द्रशमशेर राणाविरूद्धको महाभियोग अहिलेसम्म नटुंग्गाउनु सरकार र सभामुखको कमजोरी भएको उनको भनाइ थियो।

प्रतिक्रिया