भूकम्प अपडेट : भोजपुरमा २, खोटाङमा १ घर भत्किए

पालिका डायरी
१५ श्रावण २०७९
भूकम्प अपडेट : भोजपुरमा २, खोटाङमा १ घर भत्किए

आइतबार बिहान खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु भएर गएको भूकम्पबाट भोजपुरमा २ घरमा क्षति भएको छ ।

भोजपुर नगरपालिका–१२ टक्सारमा २ घर क्षतिग्रस्त भएको हो । त्यस्तै, खोटाङको साकेला गाउँपालिकामा पनि एउटा कच्ची घर भत्किएको छ । खोटाङका सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाहका अनुसार घर भत्किए पनि मानवीय क्षति भएको छैन।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार आइतबार बिहान ८ बजेर १३ मिनेट जाँदा मात्तिमबिर्ता केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको हो ।

खोटाङ प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईंले विपद् व्यवस्थापनका निकायहरु नेपाली सेना, नेपाल प्रहरी, रेडक्रस सोसाइटीलगायत सतर्क अवस्थामा रहेको जानकारी दिए ।

१२ वैशाख ०७२ मा आएको महाभूकम्पपछि त्यसका परकम्पन निकै समयसम्म आएको थियो । त्यतिबेला गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.६ रेक्टर स्केलको भूकम्प जाँदा ठूलो मात्रामा धनजन क्षति भएको थियो । यसअघि ३१ भदौ ०७७ मा सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलकै भूकम्प गएको थियो ।

प्रतिक्रिया