भूकम्पको केन्द्रबिन्दु रहेको ठाउँ दुर्गम, क्षतिको विवरण बुझ्न पालिकाका जनप्रतिनिधि जाँदै

पालिका डायरी
१५ श्रावण २०७९, ११:१३
भूकम्पको केन्द्रबिन्दु रहेको ठाउँ दुर्गम, क्षतिको विवरण बुझ्न पालिकाका जनप्रतिनिधि जाँदै

६ रेक्टर स्केलको भूकम्प गएको खोटाङको मात्तिमबिर्तामा एउटा घर भत्किएको आशङ्का गरिएको छ । तर, त्यो ठाउँ दुर्गम भएकाले पुष्टि हुन बाँकी रहेको साकेला गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष अर्जुन कटवालले उज्यालोलाई जानकारी दिनुभयो ।

भूकम्पको केन्द्रबिन्दु यही वडामा पर्छ । बस्ती भएकै ठाउँमा भूकम्पको केन्द्रबिन्दु भएकाले क्षति भएको हुनसक्ने आशङ्का गरिएको छ ।

‘यो बस्तीमा ढुङ्गा र माटोले बनेका दुईदेखि तीन तले कच्ची घरहरु छन्, क्षतिबारे बुझ्न साकेला गाउँपालिकाका अध्यक्षसहित हामी त्यसतर्फ जाँदैछौँ’– वडाअध्यक्ष कटवालले भन्नुभयो ।

खोटाङका सहायक प्रमुख जिल्ला अधिकारी पवित्र प्रकाश शाहले पनि भूकम्पले एउटा घर भत्काएको खबर पाएको जानकारी दिनुभयो । बिहान ८ बजेर १३ मिनेट जाँदा मात्तिमबिर्तामा ६ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पको धक्का भोजपुर, इलाम, मोरङ र काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा महसुस गरिएको थियो ।

प्रतिक्रिया