कांग्रेस महामन्त्री शर्माको टिप्पणी– एसपीपीको च्याप्टर त क्लोज भयो, तर…

पालिका डायरी
१४ श्रावण २०७९, ११:१४
देउवाको साथ छाडेर महामन्त्री बन्न प्रकाशमानको प्यानलमा पुगे विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)को च्याप्टर क्लोज भए पनि भविष्यमा यस्ता द्वन्द्वमा फस्नबाट जोगिनुपर्ने बताएका छन्।

मन्त्रिपरिषद्‌ले गरेको निर्णयानुसार परराष्ट्र मन्त्रालयले एसपीपी सम्झौता कार्यान्वयन गर्न नसकिने विषय सार्वजनिक भएपछि शर्माले ‘एसपीपीको च्याप्टर क्लोज’ भएको उल्लेख गरेका हुन्।

भविष्यमा यस्तै द्वन्द्वमा नेपाल कहिल्यै नपर्न आग्रहमुक्त र परिपक्व दृष्टि निर्माण एवम् परिपालनमा सबै गम्भीर बन्नुपर्ने शर्माको भनाइ छ। परराष्ट्र सम्बन्धमा व्यक्ति र दल नभइ देशलाई केन्द्रमा राख्नुपर्ने उनको भनाइ छ।

सामाजिक सञ्जालमा एक सन्देश लेख्दै शर्माले भनेका छन्, ‘एसपीपीमा सहभागी नहुने पत्र सरकारले अमेरिकालाई पठाएपछी यो च्याप्टर क्लोज त भयो, तर भविष्यमा यस्तो द्वन्द्वमा नेपाल कहिल्यै नपर्न आग्रहमुक्त र परिपक्व दृष्टि निर्माण एवम् परिपालनामा हामी सबै गम्भीर बनौं। परराष्ट्र सम्बन्धमा व्यक्ति र दल होइन देशलाई केन्द्रमा राखेर बढौं।’

पहिले गल्ती गर्ने, पछि आत्मालोचना गर्ने र फेरि गल्ती दोहोर्‍याउने प्रवृति रहेको उल्लेख गर्दै शर्माले भनेका छन्, ‘नेपालको समुन्नतिका लागि यो परम्परागत बेथिति हरेक क्षेत्रमा अन्त्य गर्न अनिवार्य छ। भू-राजनीतिक संवेदनशीलता दृस्टिगत गरेर परराष्ट्र सम्बन्धमा त झनै अनिवार्य छ।’

प्रतिक्रिया