एसपीपी सम्झाैता अघि नबढाउने पत्र अमेरिकालाई ९ गते नै पठाइसकेका छाैँ : परराष्ट्रमन्त्री खड्का

पालिका डायरी
१३ श्रावण २०७९, १६:१२
एसपीपी सम्झौताको 'च्याप्टर क्लोज' भइसक्यो : परराष्ट्रमन्त्री खड्का

सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई अघि नबढाउने लिखित जानकारी अमेरिकालाई गएकाे साउन ९ गते नै दिएको जनाएकाे छ ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा एसपीपीको विषयमा संसद्लाई जानकारी दिँदै परराष्ट्रमन्त्री डा.नारायण खड्काले साउन ९ गते नै अमेरिकी सरकारलाई लिखित जानकारी गराएको बताउनुभयाे । उहाँले कुटनीतिक माध्यमबाट नेपालले एसपीपीलाई अघि नबढाउने निर्णय गरेको लिखित जानकारी अमेरिकी सरकारसमक्ष पठाएको बताउनुभयाे ।

परराष्ट्र मन्त्री खड्काले गएकाे असार ६ को मन्त्रिपरिषद् बैठकले एसपीपी अघि नबढाउने निर्णय गरेता पनि आन्तरिक परामर्श आवश्यक भएकाले केही समय लागेको दाबी गर्नुभयाे । उहाँले मन्त्रिपरिषद्ले गरेको निर्णयका विषयमा सांसदहरुले शङ्का व्यक्त गर्नु अस्वाभिक भएको टिप्पणी गर्नुभयो । मन्त्री खड्काले एसपीपी अगाडि नबढाउने विषयमा नेपाल सरकारको दृष्टिकोण स्पष्ट रहेकाे र रहने दाबी समेत गर्नुभयो ।

उहाँले भन्नुभयो,‘साउन ९ गते कुटनीतिक माध्यमबाट नेपालले एसपीपी अघि नबढाउने निर्णय गरेको लिखित जानकारी अमेरिकी सरकार समक्ष पठाइसकेकाे छ । पत्राचारका विषयमा आन्तरिक परामर्श गर्न परेकाले केही समय लागेको हो । साथै, गठबन्धन सरकार स्वतन्त्र, सन्तुलित परराष्ट्र नीति सञ्चालनका लागि सक्षम रहेको छ ।’

मन्त्री खड्काले विभिन्न निकायहरुबीच एसपीपी अगाडि नबढाउने विषषमा छलफल गर्नु परेकाले केही समय लागेको स्वीकार गर्नुभयो ।

प्रतिक्रिया