आज अन्तर्राष्ट्रिय बाघ दिवस , अन्तर्राष्ट्रिय बाघ दिवसको पृष्ठभूमि
बाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ दिवस’का रूपमा मनाइन्छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले यस्तो घोषणा गरेको हो । उक्त मञ्चमा पहिलो विश्व बाघ सम्मेलन थियो । रुसका तत्कालीन प्रधानमन्त्री भ्लाडिमिर पुटिन र विश्व बैङ्कका अध्यक्ष रोबर्ट जोलिकको संयुक्त प्रयासमा बाघ संरक्षण कार्यक्रम थालनी गरिएको हो । त्यसयता हरेक वर्ष अन्तर्राष्ट्रिय बाघ दिवस मनाउन थालिएको हो । यस दिन बाघको संरक्षणार्थ उनीहरूको बास स्थलको संरक्षण, बाघको सङ्ख्यामा आएको ह्रासबारे जनचेतना वृद्धि, उनीहरूको संरक्षणका मुद्दाहरूको उठानका साथै बाघ संरक्षणमा भएका प्रयासहरूको सराहना र प्रोत्साहन गरी यो दिन मनाइन्छ ।
बाघको महत्त्व
बाघलाई संसारभर प्रतिकात्मक प्राणीको रूपमा लिने गरिन्छ । प्राकृतिक सम्पदाको रूपमा रहेको बाघलाई सांस्कृतिक तथा ऐतिहासिक दृष्टिकोणले पनि महत्त्वपूर्ण मानिन्छ । यो त छँदै छ, हाम्रो जैविक प्रणालीलाई सन्तुलनमा राख्न पनि यसले योगदान पुर्याउँछ । खाद्य शृङ्खलामा बाघ मुख्य सिकारी जनावर भएका कारणले जनावरलाई नियन्त्रणमा राखी वातावरण सन्तुलनमा यसको उल्लेखनीय योगदान हुन्छ ।
वातावरणीय सन्तुलन जङ्गली जनावरका लागि मात्र नभएर स्थानीयदेखि विश्वभरका मानिसहरूका लागि पनि उत्तिकै महत्त्वपूर्ण हुने गर्छ भन्ने कुरा भनिरहन नपर्ला । विद्यार्थी जीवनमा विज्ञानको किताबमा घाँस, बाख्रा, बाघ र माटो÷मलको चक्र आकारमा रहेको चित्रलाई विज्ञान पढाउने शिक्षक–शिक्षिकाले यी जीवहरूको एक आपसको सम्बन्धबारे बताएको हामीले भुलेका त पक्कै पनि छैनौँ होला ।
बाघलाई वातावरणीय सन्तुलन कायम राख्न मात्र होइन, अन्य पशुपन्छीहरूलाई सहारा प्रदान गर्न सक्ने प्राणीको रूपमा पनि वनस्पति तथा पशुपन्छी विज्ञहरू चिन्छन् । यसलाई अङ्ग्रेजीमा ‘अम्ब्रेला स्पेसिज’ भनिँदो रहेछ । बाघलाई संरक्षण गर्दा धेरै ठाउँ चाहिने भएकाले ठुलै जङ्गल संरक्षित गरिनुपर्छ । यसरी जङ्गलको संरक्षण गर्दा अन्य पशुपन्छीहरूले पनि वासस्थान पाउने भएकाले बाघलाई महत्त्वपूर्ण प्रजातिको रूपमा विश्लेषण गरिन्छ । बाघलाई संरक्षण गर्दा हामीले वन जङ्गलको पनि संरक्षण गरिरहेका हुन्छौँ ।
बाघ संरक्षण कार्यक्रमहरू
सन् १९७० देखि बाघ संरक्षण कार्यक्रमहरू गरिए पनि बाघको सङ्ख्या दिनानुदिन कम हुँदै गइरह्यो । त्यसपछि बाघका वासस्थान भएका मुलुकहरू एकै ठाउँमा भेला हुँदै संयुक्त प्रयास गरेको खण्डमा मात्रै संरक्षण गर्न सकिने खाँका बन्यो । बाघका वासस्थान भएका १३ मुलुकको एकतालाई उदाहरणीय मानिएको छ ।
सन् २०२२ सम्ममा यी १३ मुलुकले बाघको सङ्ख्या दोब्बर बनाउन सकेमा विश्वका लागि यो अनुकरणीय उदाहरण हुन जान्छ ।
२० औँ शताब्दीको पूवाद्र्धमा बाघको जनसङ्ख्या १ लाखको हाराहारीमा रहेकामा यो सङ्ख्यामा ह्रास आई ३,२०० मा झरेको तथ्याङ्कले देखाउँछ । यिनीहरूको सङ्ख्या घट्नुमा मुख्य कारण भनेको जङ्गल फडानीले गर्दा बास स्थलको कमी, मौसममा परिवर्तन, गैर कानुनी सिकार को उपज हो ।
यो प्रवृत्तिमा रोक ल्याउने हेतुले १३ मुलुकहरू संयुक्त रूपमा सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने महत्त्वाकाङ्क्षी लक्ष्य लिएर विभिन्न पशुपन्छी संरक्षणार्थ संस्थाहरूको सहयोगमा अघि बढिरहेका छन् । भारत, नेपाल, भुटान, बङ्गलादेश, कम्बोडिया, चीन, लाओस्, म्यानमार, इन्डोनेसिया, थाइल्यान्ड, भियतनाम, मलेसिया र रुसको संयुक्त प्रयासमा बाघ संरक्षण कार्यक्रम अघि सारेको ९ वर्ष हुँदैछ ।