मङ्कीपक्सले अमेरिका–बेलायतमा हायलकायल बनाएकाे छ, सरकार निद्रामा छ : सांसद भट्टराई

पालिका डायरी
१० श्रावण २०७९, १४:४१
मङ्कीपक्सले अमेरिका–बेलायतमा हायलकायल बनाएकाे छ, सरकार निद्रामा छ : सांसद भट्टराई

नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले स्वास्थ्य क्षेत्रमा सरकारले चासो नदिएको आरोप लगाउनुभएको छ । आज मङ्गलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भट्टराईले यस्तो बताउनुभएको हो । उहाँले अमेरिका, बेलायतलगायतका विकसित देशमा पनि मङ्कीपक्स फैलिरहेको भन्दै सरकारले देशका सीमा नाकाहरूमा स्वास्थ्य परीक्षण केन्द्र राख्नुपर्ने बताउनुभयो ।

सांसद भट्टराईले सरकारले कुनै पनि किसिमबाट मङ्कीपक्सकाे बारेमा नागरिकलाई सुसूचित गर्न चासो नदिएको गुनासाे गर्नुभयाे । उहाँले जनस्वास्थ्यको कुरामा सरकार निद्राकाे अवस्थामा रहनु दुःखद भएको बताउनुभयो । सांसद भट्टराईले छिमेकी देश भारतमा चार जनामा मङ्कीपक्स पुष्टि भइसकेकोले नेपाल पनि यो विपदबाट टाढा नरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अमेरिका, बेलायत लगायतका विकसित देशमा पनि मङ्कीपक्सले हायलकायल बनाएको छ । सरकारले यसबारेमा अहिलेसम्म पनि कुनै सार्वजनिक ढङ्गले नेपाली जनतालाई सुसूचित गरेको छैन । सरकार मौन बसिरहेको छ । सरकार निद्राकाे अवस्थामा छ । विश्व स्वास्थ्य सङ्गठनले चेतावनी दिइसकेको छ, स्वास्थ्य सङ्कटकालको घोषणा गरिसकेको छ । हाम्रा सीमानामा एउटा पनि साइनबोर्ड राखिएको छैन । विमानस्थलमा यसबारेमा कुनै सचेतना दिइएको छैन । सञ्चारमाध्यमबाट सरकारले कुनै विज्ञापन, सूचना सार्वजनिक गरेको छैन ।’

सांसद भट्टराईले काठमाण्डाै उपत्यकामा हैजा फैरिरहेकाे भन्दै पिउने पानीका मुहान र वितरण गर्ने ट्याङ्करको गुणस्तर परीक्षण गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया