करार कर्मचारी नहटाउन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ध्यानाकर्षण विज्ञप्ती सहित

पालिका डायरी
६ श्रावण २०७९

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार सेवा केन्द्रमा कार्यरत करारका कर्मचारीलाई नहटाउन आग्रह गरेको छ ।

मन्त्रालयले मिति २०७९/४/२ गते सेवा करार सम्बन्धि एक विज्ञप्ती जारी गर्दै पालिका तहमा रोजगार सेवा केन्द्रमा कार्यरत केही रोजगार संयोजक तथा प्राविधिक सहायकको करार सम्झौता भङ्ग गरेकोमा ध्यानाकर्षण भएको जनाएको छ ।
रोजगार संयोजकको पदपूर्ति र सेवा सुविधा सम्बन्धी मापदण्ड–२०७६ र स्थानीय तहमा प्राविधिक सहायक र रोजगार सहायक पदपूर्ति सम्बन्धी मापदण्ड–२०७८ मा व्यवस्था भए अनुसार कार्यसम्पादन मूल्याङ्कन आधारमा करार नवीकरण गर्नुपर्ने केही पालिकाले कार्यपालिकाको निर्णयका आधारमा करार भङ्ग गरेको जानकारीमा आएको पनि मन्त्रालयले जनाएको छ ।

यसअघि नियुक्त भएका रोजगार संयोजक तथा प्राविधिक सहायक कर्मचारीलाई कानुनी प्रकृया अनुसार बाहेक सेवाबाट नहटाउन परिपत्र मार्फत भनिएको छ । कार्यक्रमको सुरुवात देखिनै भर्ना गरिएका जनशक्तिलाई तलब, भत्ता र अन्य सेवा सुविधा प्रदान गरी सङ्घीय सरकारले लगानी गरी मानव पुँजी निर्माण गरेको हो । यो कार्यक्रम केन्द्रीय ससर्त अनुदान अन्तर्गत सञ्चालित रहेकाले एकमुष्ठ रुपमा कर्मचारीलाई सेवाबाट हटाउँदा प्रधानमन्त्री रोजगार कार्यक्रम र युवारुप कार्यक्रमको सोच, लक्ष्य र उद्देश्यमा दख्खल पर्न गएको राष्ट्रिय कार्यक्रम निर्देशक डण्डुराज घिमिरेले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया