मकवानपुरगढी पुगेर बानियाँले भने– गठबन्धनले जिते सुकुम्वासीलाई लालपूर्जा, जोखिमयुक्त बस्तीको संरक्षण

पालिका डायरी
२६ बैशाख २०७९

हेटौंडा / नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले मकवानपुरगढीका सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुलाई उनीहरुकै नाममा जग्गाको लागपूर्जा उपलब्ध गराइने बताएका छन् ।

सत्तारुढ पाँच दलीय गठबन्धनद्वारा मकवानपुरगढी–५ मा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै बानियाँले मकवानपुरगढीमा गठबन्धनले नेतृत्व लिएसँगै सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुको व्यवस्थापन हुने बताए ।
उनले मकवानपुरगढी ५ स्थित सयौँ परिवार सामरी खोलाको कारण जोखिममा रहेका कारण अब खोलाको दुवैतर्फ तटबन्ध निर्माण गरी बस्तीको संरक्षण गर्ने बताए । त्यस्तै बासुदेव मार्गलाई कोगटे, सिस्नेरी हुँदै काठमाडौँ जाने मार्गसम्म जोड्न आवश्यक बजेट प्रदेश सरकारले उपलब्ध गराउने बानियाँले बताए ।

ऐतिहासिक महत्व बोकेको मकवानपुरगढी गाउँपालिकालाई नमूना पालिकाको रुपमा स्थापित गर्न गठबन्धनको जित आवश्यक रहेको उल्लेख गर्दै बानियाँले गठबन्धनलाई जिताउन सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न अपिल गरे ।

उनले यो निर्वाचनले लोकतन्त्र र संविधानमाथि नै प्रहार गर्नेहरुलाई सबक सिकाउने पनि बताए । जनताको मर्म र भावनालाई बुझेर नै गठबन्धन गरिएको उल्लेख गर्दै बानियाँले सबै एकजुट भई साझा उम्मेदवारहरुलाई जिताउन आम मकवानपुरगढीवासीलाई आग्रह गरे ।
सभामा गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार दोर्जे लामा स्याङ्तान र उपाध्यक्ष पदकी उम्मेदवार मानकुमारी पाख्रिनले गठबन्धनका चुनावी एजेण्डाको विषयमा जानकारी दिएका थिए । उनीहरुले गठबन्धनको नेतृत्व मकवानपुरगढीलाई समृद्ध बनाउने मार्गमा अग्रसर हुने बताए ।

सभापति बानियाँसहित उम्मेदवारहरुको टोली सिमल्टार, भालुखोला, धादिङ्, डुम्रेकुनालगायत क्षेत्रमा घरदैलो र मतदाता शिक्षा अभियानमा सक्रिय भएको थियो । टोलीमा नेताहरु यतिराज सापकोटा, युवराज सापकोटा, दिपेश दाहाल, कृष्ण घिमिरेलगायत हजारौँंको संख्यामा वडावासीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
received_523857402726384-1024×566