हेटौंडा–९ मा एमालेको घरदैलो सम्पन्न, शनिबार आमसभा गर्ने

पालिका डायरी
२३ बैशाख २०७९, १८:२२

हेटौंडा / स्थानीय तहको निर्वाचन आउन १ हप्ता मात्र बाँकी रहँदा हेटौंडा–९ मा नेकपा एमालेले घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । बैशाख १९ गतेबाट सुरु भएको घरदैलो कार्यक्रम ५ दिनमा सम्पन्न भएको हो ।

घरदैलो कार्यक्रमको समापन पछि बैशाख २४ गते शनिबार एमालेले वडा स्तरिय बृहत आमसभा आयोजना गर्ने भएको छ । नेकपा एमालेबाट हेटौंडा उपमहानगरपालिकाका मेर र उपमेयरका उम्मेदवारहरुसहित केन्द्रिय नेताहरुको समेत सम्बोधन रहनेगरी आमसभा गर्न लागिएको नेकपा एमाले हेटौंडा–९ का अध्यक्ष यदुवंश खतिवडाले जानकारी दिनुभयो । ५ दिनको प्रचार कार्यक्रममा उम्मेदवारहरुसहित प्रचारमा सहभागी सबैजना हिडेर नै सम्पुर्ण वडाबासीहरुका घरघरमा पुगेर प्रचार गरिएको वडा अध्यक्षका उम्मेदवार लक्ष्मण प्रसाद भण्डारीले जानकारी दिनुभयो ।

एमालेको गढको रुपमा रहेको हेटौंडा–९ मा एमालेको चुनाव प्रचारमा वडाबासीहरुको उत्साहजनक उपस्थिती रहेको उहाँले बताउनुभयो । दोस्रो कार्यकालको लागि पुनः उम्मेदवारी दिनुभएका भण्डारीले अघिल्लो निर्वाचनमा प्रतिस्पर्धीलाई दोब्बर मतले पराजित गरेको स्मरण गर्नुहुँदै यस पटक नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले एमालेको बिरुद्धमा वडामा संयुक्त गठबन्धन गरेर आएपनि गठबन्धनको चुनौतीलाई आफु तथा एमालेका सम्पुर्ण उम्मेदवारले सहजरुपमा लिएको बताउनुभएको छ । आफु वडा अध्यक्षको रुपमा रहेर ५ वर्षमा गरेका विकास निर्माणका कामहरुबाट सम्पुर्ण वडाबासीहरु सन्तुष्ट रहेकाले जति दल मिलेर आएपनि वडाबासीहरुले एमालेलाई नै मत दिनेमा आफु विश्वस्त रहेको समेत बताउनुभयो ।


वडाबासीहरुकै अनुरोधमा आफु फेरिपनि वडा अध्यक्षको उम्मेदवार भएको बताउनुहुँदै भण्डारीले अन्य दलका केही व्यक्तिहरुले समाजमा अनेकौं भ्रम छर्ने काम गर्न प्रयासरत रहेपनि सफल नहुने बताउनुभयो । गठबन्धनका उम्मेदवारहरु अहिलेदेखि नै पराजित मानसिकताका साथ अगिाडी बढीरहेको उहाँले दाबी गर्नुभएको छ । पछिल्लो समयमा हेटौंडा–९ मा निर्माणधिन दिब्य बाल उद्यानमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोडको घटनापछि वडाकै प्रगती माविको नाम राखेर फेसबुकबाट गठबन्धनका उम्मेदवारलाई भोट माग्ने तथा एमालेको बिरुद्धमा स्टाटस राख्दै जनतामा भ्रम छर्ने प्रयास गरिरहेको उहाँले जानकारी दिनुभएको छ ।

फेसबुकबाट प्रगति माविको नाम परिवर्तन गर्ने, विद्यालयमा मदन भण्डारीको शालिक बनाउने जस्ता कुराहरुको खण्डन गर्नुुहँदै वडा अध्यक्षका उम्मेदवार भण्डारीले यस्ता गतिबिधिले गठबन्धनको पराजित मानसिकता प्रष्ट देखिएको पनि दाबी गर्नुभयो । विद्यालयको नाम प्रयोग गरेर गलत सूचना छर्ने कार्यप्रति उहाँले भ्रत्सना व्यक्त गर्नुभएको छ । साथै यस्ता गलत सूचनाको पछि नलाग्न पनि उहाँले सम्पुर्ण वडाबासीलाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया