स्थानीय तह निर्वाचन :आजदेखि उम्मेदवार दर्ता प्रक्रिया सुरु, कस्ले कति तिर्नु पर्छ धरौटी रकम ?

पालिका डायरी
११ बैशाख २०७९, ११:२१
राष्ट्रिय सभा सदस्य निर्वाचन : आज मनोनयनपत्र र उजुरीको जाँचबुझ गर्ने आयोगको तयारी

स्थानीय तह निर्वाचनका लागि आजदेखि उम्मेदवार दर्ता प्रक्रिया सुरु हुँदैछ । उम्मेदवारी दर्ता आज बिहान १० बजेदेखि भोलि अपराह्न ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा गर्न पाइनेछ ।

निर्वाचन आयोगले मनोनयन दर्ताका लागि मापदण्ड तोकेको छ । उम्मेदवार हुन नेपाली नागरिक हुनुपर्ने पहिलो सर्त रहेको छ । उम्मेदवार हुन २१ वर्ष पूरा भएको हुनुपर्नेछ। आफ्नो क्षेत्रमा मतदाना नामावली भएको र कुनै कानुनले अयोग्य नभएको हुनुपर्नेछ ।

यसका साथसाथै पदअनुसार उम्मेदवारहरुले फरक–फरक खालका कागजात पेस गर्नुपर्छ । प्रमुख तथा उपप्रमुखमा मनोनयन दर्ता गर्ने उम्मेदारहरुले ९ प्रकारका कागजात र वडाध्यक्ष तथा सदस्यहरुले ९ प्रकारका कारण पेस गर्नुपर्छ। दलित महिला सदस्यले १० प्रकारका कागजात बुझाउनुपर्छ। दलीय रुपमा उम्मेदवारी दिने भए मनोनयनपत्र ९टिकट० अनिवार्य गरिएको छ । स्वतन्त्र उम्मेदवारका लागि दलको पत्र आवश्यक पर्दैन ।

निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि कुनै पनि शुल्क तोकेको छैन । तर, उम्मेदवारले धरौटी रकम भने जम्मा गर्नुपर्ने हुन्छ । स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को दफा ३६ मा उम्मेदवारले मनोनयन दर्ता गराउँदा बुझाउनुपर्ने धरौटी रकमबारे व्यवस्था गरिएको छ ।

जसअनुसार महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाको मेयर वा उपमेयर तथा गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष पदमा मनोनयन दर्ता गराउने व्यक्तिले १ हजार ५०० रुपैयाँ धरौटी जम्मा गर्नुपर्नेछ । त्यस्तै वडा अध्यक्ष पदका लागि १ हजार रुपैयाँ र वडा सदस्य पदका लागि मनोनयन गराउनेले ५०० धरौटी रकम बुझाउनुपर्ने निर्देशिकाले व्यवस्था गरेको छ ।

यस्तो धरौटी रकममा समेत महिला र दलित वा अल्पसंख्यक समुदाय वा आर्थिकरुपले विपन्न व्यक्तिले छुट पाउने व्यवस्था छ । निर्देशिकाको दफा ३६ मै महिला र दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रुपले विपन्न व्यक्तिको हकमा धरौटी रकमको ५० प्रतिशत छुट हुने उल्लेख छ । यस आधारमा महिला र दलित समुदायको व्यक्तिले मनोनयन दर्ता गराउँदा ५० प्रतिशतमात्रै धरौटी रकम जम्मा गरे पुग्नेछ ।

प्रतिक्रिया