सामूहिक राजीनामा दिँदै जनकपुर कांग्रेस, स्वतन्त्र उमेदवारी दिने तयारी

पालिका डायरी
९ बैशाख २०७९, १२:१९
हेटौँडामा एक्लै निर्वाचन लड्ने कांग्रेसको निर्णय

गठबन्धनका कारण जनकपुर उपमहानगरपालिका जनता समाजवादी पार्टीको भागमा गएकोभन्दै कांग्रेस जनकपुर उपमहानगर सभापतिसहित केही पदाधीकारी र सदस्यहरुले सामूहिक राजीनामा दिने भएका छन् ।

उपमहानगर सभापति मनोज साहलगायत असन्तुष्ट नेता कार्यकर्ताहरुले पार्टीबाट राजीनामा दिन लागेका हुन् । सभापति साहले वडा नम्बर १५ का वडाअध्यक्ष, सम्पूर्ण पदाधीकारी, टोल समिति र सम्पूर्ण नेता कार्यकर्ताले राजीनामा दिन लागेको बाह्रखरीलाई जानकारी दिए । उनले दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर राजीनामा दिन लागेका हुन् ।

“मैले कांग्रेस सिध्याउन हैन बचाउन राजीनामा दिन लागेको हुँ । म सहित असन्तुष्ट नेता कार्यकर्ताहरूले राजीनामा दिन लागेका हौँ,” उनले भने ।

केन्द्रले गठबन्धनको नाममा जनकपुरमा कांग्रेस सिध्याउन लागिपरेको र जसपलाई पार्टी वुझाउन लागिेको उनको आरोप छ ।यता, धनुषा जिल्ला सभापति योगेन्द्र पंजियारले पनि नगर सभापतिसहित असन्तुष्टहरुले राजीनामा दिने तयारी गरेको आफूले थाहा पाएको बताए । “मैले पनि सुनेको छु । उहाँहरुलाई राजीनामा नदिनुहोस् भनेर सम्झाउने काम पनि गरिरहेको छु,” पंजियारले बाह्रखरीसँग भने ।

पंजियारले केन्द्रले आफूहरुको मनोभावना विपरित जनकपुरमा गठबन्धन भएको पनि बताए । आफूहरुलाई मधेसवादी दलहरुले शत्रु देख्ने गरेकोभन्दै सिङ्गो प्रदेशनै मधेसवादी दलहरुलाई सभापति देउवाले वुझाउने षडयन्त्र गरिरहेको आरोप लगाए ।

“मधेसवादी दलहरुले हामीलाई शत्रु सम्झिरहेका छन् । जसपालाई यत्रो महत्वको स्थान दिएपछि केन्द्रले मधेस प्रदेशनै मधेसी दलहरुलाई दिलाउने षडयन्त्र भयो,” उनले भने ।

सभापति पंजियारले नगर समितिले राजीनामा दिएर स्वतन्त्र उमेदवारी दिने तयारी भइरहेको आफूले थाहा पाएको पनि बताए ।

प्रतिक्रिया