युक्रेनमा तीन छिमेकी देशका प्रधानमन्त्री किभ पुगेर राष्ट्रपति जेलेन्स्कीसँग भेटवार्ता, वार्ताबाटै समस्या समाधानमा जोड

पालिका डायरी
२ चैत्र २०७८, १०:४५
युक्रेनमा तीन छिमेकी देशका प्रधानमन्त्री किभ पुगेर राष्ट्रपति जेलेन्स्कीसँग भेटवार्ता, वार्ताबाटै समस्या समाधानमा जोड

युक्रेनमा रुसको आक्रमण जारी रहेका बेला तीन छिमेकी देशका प्रधानमन्त्री युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेट्न राजधानी किभ पुगेका छन् ।

युक्रेनका छिमेकी देशहरु पोल्याण्ड, स्लोभेनिया र चेक गणतन्त्रका प्रधानमन्त्रीहरु रेल मार्फत किभ पुगेका हुन । किभ पुगेका उनीहरुले मंगलबार राती युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग भेटेर रुस विरुद्धको लडाईमा ऐक्यवद्धता जनाएका हुन ।

चेक गणतन्त्रका प्रधानमन्त्री पित्र फिलाले आफूहरु जेलेन्स्कीको सहासको सम्मान गर्न किभ पुगेको भन्दै जेलेन्स्कीलाई तपाई लडाइमा एक्लो हुनुहुन्न भन्नुभएको जनाइएको छ । यस्तै पोल्याण्डका प्रधानमन्त्री मातेउज मोराविकीले युक्रेनको पराजय सिंगो युरोपको पराजय हुने भन्दै आफूहरु जेलेन्स्कीको साथमा रहेको बताउनुभयो ।

जेलेन्स्कीले पनि तीन छिमेकी देशका प्रधानमन्त्रीको किएभसम्मका यात्रा युक्रेनका लागि शक्तिशाली प्रदर्शन भएको प्रतिक्रिया दिनुभएको छ । उनीहरुबीच रुसमाथि अझै कठोर प्रतिबन्ध लगाउने विषयमा पनि छलफल भएको बताइएको छ । विमानबाट जाँदा रुसी आक्रमणको निशानामा पर्ने डर भएपछि उनीहरु पोल्याण्डको राजधानी वार्साबाट रेल चढेर किभ गएका हुन ।

यसैबीच, युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुससँगको शान्ति वार्ता यथार्थपरक बन्दै गएको बताउनुभएको छ । चौथो चरणको वार्ताको विषयमा सामाजिक सञ्जालमार्फत उहाँले वार्ता यथार्थपरक बन्दै गएपनि निकाशका लागि भने समय लाग्ने देखिएको भन्दै युक्रेनी जनताको धैर्यताको प्रशंसा गर्नुभएको छ ।

रुसले युक्रेन नेटोमा संलग्न नहुने ग्यारेन्टी दिनुपर्ने तथा दोनेत्स्क र लुगाङ्स्कमाथिको दावी छाड्नुपर्ने सर्त राखेको जनाइएको छ ।

प्रतिक्रिया