हराएका २१ वटा सवारी साधन फेला पारी हस्तान्तरण

पालिका डायरी
१ चैत्र २०७८, ११:४४
हराएका २१ वटा सवारी साधन फेला पारी हस्तान्तरण

काठमाडौं / महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको विभिन्न स्थानबाट हराएका २१ वटा सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

सोमबार महाशाखामा एक कार्यक्रमको आयोजना गरी महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले विभिन्न कम्पनीका १६ वटा मोटरसाइकल र ५ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो ।

एक महिनाको अवधिमा खोजी गर्दा उपत्यकाका विभिन्न स्थानमा सो सवारी साधनहरू फेला परेको महाशाखा प्रमुख जोशीले बताउनुभयो ।

सवारी साधनमा डिस्क लक, ह्वील लक, सेक्युरिटी साइरनको प्रयोग गर्न सकेमा सवारी साधन चाडैं चोरी हुन नसक्ने उहाँको भनाइ छ । सवारी साधनको सुरक्षामा संवेदनशील हुन पनि सवारी धनीहरुलाई उहाँको आग्रह छ ।

महाशाखाले २ महिनाको अवधिमा ८८ वटा मोटरसाइकल फेला पारी धनीलाई जिम्मा लगाइसकेको बताएको छ भने २५६ वटा मोटरसाइकल हराएको निवेदन परेको जानकारी दिएको छ ।

सवारी साधन हराउन साथ ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३ मा फोन गरेर तथा ‘लस्ट भेहिकल एप्लिकेशन’ मा लगइन गरेर अनलाइनमार्फत् पनि निवेदन दिन ट्राफिक प्रहरी महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया