राजेश हमाल काठमाडौंको मेयरका आकांक्षी

पालिका डायरी
२७ फाल्गुन २०७८, १९:४१
राजेश हमाल काठमाडौंको मेयरका आकांक्षी

काठमाडौं / महानायक राजेश हमालले काठमाडौं महानगरको मेयर बन्ने इक्षा व्यक्त गरेका छन् । उनले काठमाण्डौंको सौन्दर्यीकरणमा कसैको ध्यान पु्ग्न नसकेको बताएका छन् ।

बुधबार राजेश हमाल अफिसियल नामक युट्युब च्यानलमा पोस्ट गरिएको “अ डे विथ राजेश हमाल” शीर्षकको भ्लगको ट्रेलरमा हमालले नेताहरूले भाषण गरे पनि व्यवहारमा उतार्न नसकेको बताएका उल्लेख गरेका छन् ।

सहरलाई व्यवस्थित बनाउन कसैको ध्यान नपुगेको उल्लेख गर्दै उनले भनेका छन्,”सहरलाई ब्युटिफाई बनाउने कुरामा कसैको ध्यान गएन । भाषणमा चाहिँ भनिरहेका हुन्छन् । प्राक्टिकल्ली सोच नपुगेर हो कि ढंग नपुगेर हो कि”

त्यस्तै हमालले एक्त भिडियोमा भनेका छन्,”एकचोटि काठमाडौं सहरको मेयर बन्नु पो पर्छ कि क्या हो।”

सरकारले आउँदो वैशाख ३० गते एकैचरणमा स्थानीय तहको चुनाव घोषणा गरेको छ । निर्वाचन आयोगले मतपत्र छपाईलगायतका काम अगाडि बढाएको छ । सुरक्षा निकायले पनि तयारी थालेको छ ।

अभिनेता राजेश हमाल नेकपा एमालेमा प्रवेश गर्ने सम्भावना रहेको छ । उनलाई एमालेमा ल्याउन उक्त दलका नेताहरुले छलफल बढाएका छन् । मेयरको उम्मेदवारको इच्छा देखाएका हमालको एमालेसँग यसबारे छलफल चलेको हो ।

नेपाली चलचित्र क्षेत्रका महानायक भनिने गरिएका हमाललाई एमाले भित्राउन अध्यक्ष केपी शर्मा ओलीसम्म कुरा पुगेको स्रोतले बतायो । ओलीले पनि लोकप्रीय अनुहारहरुलाई पार्टीमा ल्याउने प्रयास गरिरहेका छन् ।

चुनाव नजिकिंदै गर्दा विभिन्न व्यक्तिले आफूलाई उम्मेदवारका रूपमा उभ्याएका छन् । यसअघि र्यापर बालेन शाहले काठमाडौंको मेयरमा उठ्ने घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया