मकवानपुरगढी गाउँपालिकाको सबै वडा बालमैत्री घोषणा

पालिका डायरी
२७ फाल्गुन २०७८
हेटौंडा

 

हेटौंडा / मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको ८ वटै वडाहरु आज बालमैत्री वडा घोषणा भएको छ । चैत्र १२ गते बालमैत्री स्थानीय शासन घोषणा गरिने भएको छ । वडालाई बाल विवाह मुक्त, निकृष्ट बालश्रम मुक्त वडा घोषणा पश्चात वडालाई बालमैत्री घोषणा गर्न लागिएको हो । गाउँपालिकाले अनुगमन र मुल्यांकन पछि कार्यपालिकाको बैठक बसेर आज शुक्रबार गाउँपालिकाको ८ वटै वडा वडा घोषणा गरिएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले वडाहरु घोषणा भएसँगै गाउँपालिका घोषणा गर्न भने सबै सुचकहरु जिल्ला समन्वय समिति र बागमती प्रदेश सरकारले अनुगमन, मुल्यांकन हुने र १२ गते शनिबार बृहत कार्यक्रमको आयोजना गरि घोषणा गरिने बताए ।
‘आवश्यक सुचकहरु त पुरा भैसकेको छ ।’ आज बालमैत्री वडा घोषणा भएको छ । अब जिल्ला समन्वय समिति र बागमती प्रदेश सरकारले अनुगमन, मुल्यांकन गरे पछि १२ गते बालमैत्री गाउँपालिका घोषणा हुने छ, पुडासैनीले भने ।
माथिल्लो निकायले सुचकहरुको प्रतिवेदन ठिक छ भने पछि गाउँपालिका घोषणा गरिनेछ । गाउँपालिकाले बालमैत्री घोषणा गर्नुभन्दा अघि पञ्चवर्षिय दिगोपना राख्न रणनितिक योजना समेत बनाइसकेको उनले बताए ।

गाउँपालिकाले प्रत्येक वडामा बालमैत्री सहजकर्ता राखी कामलाई तीव्रता दिइएको थियो । २०७८ मंसिरमा घोषणा गर्न तयारी रहदाँ रहदैँ कोरोना कहरका कारण फागुन चैत्र सम्म पुगेको बताइएको छ । गाउँपालिकाले बालमैत्री स्थानीय शासन घोषणा निर्देशिका २०७८ मा रहि ५१ वटा सुचकमा रहेर काम गरेको थियो । ५१ वटा सुचकहरुमा बाँच्न पाउने अधिकारमा १४ वटा, संरक्षणको अधिकारमा १० वटा, विकासको अधिकारमा ६ वटा, सहभागिताको अधिकारमा ६ वटा र संस्थागत सुचकमा १५ वटा रहेका छन् ।

बालमैत्री घोषणा गर्ने नेपालको गाउँपालिका अन्तरगत चौथो, बागमती प्रदेशमा तेस्रो र मकवानपुर जिल्लामा पनि तेस्रो मकवानपुरगढी गाउँपालिका रहेको छ । सबै वडाले वडालाई बाल विवाह मुक्त, निकृष्ट बालश्रम मुक्त वडा घोषणा गर्दै बाल मैत्री घोषणा गरिएको हो ।

प्रतिक्रिया