चीनबाट खोप लिएर आएको विमान काठमाडौंमा हुन सकेन अवतरण, गयो फिर्ता

पालिका डायरी
५ पुष २०७८, १३:३१

 

काठमाडौँ/  मौसम प्रतिकूलताका कारण जहाज अवतरण गर्न नसकेपछि आज चीनबाट ल्याइएको कोरोना भाइरस विरुद्धको भेरोसेल खोप फिर्ता भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम खराबीले आज बिहान जहाज अवतरण गर्न नसकेपछि खोप फिर्ता भएको हो। एशियाली विकास बैंकको सहयोगमा चीनबाट भेरोसेल खोप नेपाल ल्याउन लागिएको थियो।

स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले विमानस्थलमा जहाज अवतरण गर्न नसकेपछि खोप फिर्ता गए पनि भोलिसम्ममा आइपुग्ने जानकारी दिए। उनका अनुसार त्यहाँबाट १२ लाख एक हजार ८ सय ८७ मात्रा खोप आउन लागेको थियो।

यस्तै, आजै भारतबाट पनि १८ लाख ७० हजार ५०० मात्रा खोप आउन लागेको छ। कोभ्याक्स सुविधाअन्तर्गत कतार एयरवेजबाट दिउँसो २:३५ बजे उक्त खोप नेपाल आइपुग्ने प्रमुख चौरसियाले बताए। नेपालमा तीन करोड ५४ लाख ६६ हजार ९८० मात्रा खोप आएकामा अहिलेसम्म दुई करोड १६ लाख ५४ हजार १०९ मात्रा खोप लगाइसकिएको छ।

प्रतिक्रिया